बाँकी निर्वाचन सम्पन्न गर्न आयोगद्वारा ऐनको माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाँकी निर्वाचन सम्पन्न गर्न आयोगद्वारा ऐनको माग


१७ असार २०७४, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ७ गतेभित्र प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्न यही असार मसान्तभित्र आवश्यक ऐन, कानुन तर्जुमा गर्न सरकारसँग माग गरेको छ ।

संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा रहेको तीनैवटा निर्वाचन सो मितिभित्र सम्पन्न गर्न आयोगले कानुन खोजेको हो । यस अतिरिक्त निर्वाचनका लागि आवश्यक पर्ने आर्थिक र अन्य सहयोगको मागसहित उसले सरकारलाई चरणबद्ध कार्ययोजनासमेत बुझाएको छ ।

“मसहित आयोगका पदाधिकारीले शु्क्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी आयोगको कार्ययोजना बुझायौँ, आगामी निर्वाचनका लागि आवश्यक ऐन, कानुन तथा आर्थिक पक्षका बारेमा जानकारी गरायौँ, ” प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले शनिबार आयोजित साक्षात्कारमा भने ।

उनले आयोगले आगामी असोजको अन्तिम हप्ता प्रदेश सभा, कात्तिक पहिलो हप्ता राष्ट्रिय सभा र मङ्सिर महिनामा प्रतिनिधिसभाको निर्वाचनको तयारी गरिरहेको जानकारी दिए ।

“क्षेत्र निर्धारण आयोगको प्रतिवेदन साउन १५ भित्र आयोगले पाउनुपर्छ, यसपछि मात्र प्रदेश र प्रतिनिधिसभाका निर्वाचनको प्रक्रिया अगाडि बढ्छ” – उनले भने ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी निर्वाचनको तिथिमिति तोक्न सरकारसँग आग्रह गर्दै अब आगामी निर्वाचनको तयारी गर्न आयोगसामु धेरै समय नभएको बताए ।

वैशाख ३१ र असार १४ मा सम्पन्न स्थानीय तहका निर्वाचन नमुना निर्वाचनका रुपमा जनताको उत्साहपूर्ण सहभागिता रहेको चर्चा गर्दै उनले आगामी असोज २ गते प्रदेश नं. २ मा हुने निर्वाचनमा पनि आममतदाताको सहभागितामा कमी नआउने विश्वास व्यक्त गरे ।

सञ्चारकर्मीको एक जिज्ञासामा डा. यादवले असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनको हालसम्म ३० प्रतिशत मतगणना सम्पन्न भएको जवाफ दिए । उनका अनुसार आगामी निर्वाचनमा विद्युतीय उपकरणको प्रयोग गर्नेबारेमा अध्ययन सुरु भएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस