गर्भवतीको हेलिकप्टरद्वारा उद्धार « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

गर्भवतीको हेलिकप्टरद्वारा उद्धार


११ असार २०७४, आइतबार


बाजुरा । चार दिनदेखि सुत्केरी बेथाले छट्पटाइरहेकी पाण्डवगुफा गाउँपालिका– ३ की ४१ वर्षीया फुलटुक्का ढोलीलाई आज उपचारका लागि हेलिकप्टरद्वारा नेपालगन्ज पुर्याइएको छ ।

केही सञ्चारमाध्यमबाट समाचार प्रसारित भएपछि ढोलीलाई हेलिकप्टरमार्फत नेपालगन्ज पुर्याइएको हो । सदरमुकाम मार्तडीदेखि दुई दिनको पैदल दुरीमापर्ने पाण्डवगुफाकी ढोली सुत्केरी हुन नसकेर छट्पटाइरहेकी थिइन् । ज्यान जोखिममा रहेको खबर थाहा पाएपछि जिल्ला स्वास्थ्य कार्यालयको पहलमा उनलाई सिम्रिक एयरको हेलिकप्टर गाउँमै अवतरण गराई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

ढोलीलाई बिहीबार सुत्केरी बेथा सुरु भएको थियो । एक दिन घरमै पर्खदा सुत्केरी हुननसकेपछि उनका श्रीमान् जयलालले अर्को दिन हुनी स्वास्थ्य चौकी पुर्याएका थिए । स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले ढोलीलाई प्रसूति गराउन नसकेर अन्यत्र लैजान सिफारिस गरेका थिए । तर अन्यत्र लैजान उनको आर्थिक अवस्था कमजोर भएका कारण गर्भवती ढोली चार दिनदेखि गाउँमै थन्किएकी थिइन् । उनको यो छैटौँ गर्भ भएको डा. विश्वकर्माले बताए ।

“हाम्रो पहलमा परिवार स्वास्थ्य महाशाखाले चार लाख ५० हजार सहयोग गर्ने आश्वासन दिएपछि ढोलीको उद्वार सम्भव भएको हो,” जिल्ला स्वास्थ्य कार्यालयकी परिवार नियोजन सुपरभाइजर दुर्गा बजगाईंले भने । रासस

Tags :
प्रतिक्रिया दिनुहोस