पुनःसर्वेक्षणका लागि तेह्र महिला इन्जिनियर परिचालन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पुनःसर्वेक्षणका लागि तेह्र महिला इन्जिनियर परिचालन


१७ जेष्ठ २०७४, बुधबार


काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा पर्न नसकेका भूकम्पपीडित परिवारको विवरण सङ्कलन गर्न १३ महिला इन्जिनियरलाई बुधबारदेखि जिल्लामा खटाएको छ ।

इन्जिनियरले पहिलो चरणमा नुवाकोट र दोलखाको स्थलगत निरीक्षण गर्नेछन् । गुनासो सम्बोधन गर्दा पुनःसर्वेक्षणमा परेका करिब एक हजार बढी घरको निरीक्षण गरी लाभग्राही सूचीमा नपर्नुका कारण र उनीहरुको वास्तविक अवस्थाबारे जानकारी लिने प्राधिकरणका सूचना व्यवस्थापन महाशाखा प्रमुख उपसचिव मनोहर घिमिरेले जानकारी दिए ।

घर भत्किएर पनि लाभग्राही सूचीमा पर्न नसकेको अति प्रभावित १४ जिल्लाबाट धेरै गुनासो आएपछि सम्बोधन गर्ने प्रयासमा प्राधिकरणले पहिलो चरणमा इन्जिनियरलाई जिल्लामा पठाएको हो । प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेल, सचिव सर्वजीतप्रसाद महतो, कार्यकारी सदस्य डा. हरिराम पराजुली लगायतले जिल्ला जान लागेका इन्जिनियरलाई बिदाइ गरे ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले भूकम्पका कारण पीडित बनेका परिवारका जायज गुनासोसमेत सम्बोधन हुन नसकेकाले वास्तविक अवस्था बुझेर आउन इन्जिनियरलाई निर्देशन दिए । इन्जिनियरले ल्याउने विवरणका आधारमा प्राधिकरणले पुनःजाँच तथा सर्वेक्षणमा परेका परिवारलाई लाभग्राही सूचीमा समावेश गर्नेछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस