भगवान् बुद्धप्रति आस्था प्रकट गरी बुद्ध जयन्ती मनाइँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भगवान् बुद्धप्रति आस्था प्रकट गरी बुद्ध जयन्ती मनाइँदै


२७ बैशाख २०७४, बुधबार


काठमाडौँ । वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे ।

छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गरे बौद्ध दर्शनको खोज–अनुसन्धानमा लागेका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताए ।

“सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गरे, जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो”– उनले भने ।

बौद्ध दर्शनका प्राध्यापक शान्तरत्न बज्राचार्य भगवान् बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गरेको मुख्य कुरा चार आर्य सत्य रहेको उल्लेख गर्छन् । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेको उनको भनाइ छ ।

“भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठवटा मार्ग छन् भनी बुद्धले हामी सबैलाई ज्ञान दिएका छन्”–उनले भने ।

यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।

हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति ¥याली निकालिन्छ ।

यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरि एवम् शोभा यात्रा निकालिन्छ । प्रभातफेरि र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपतिको शुभकामना सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्र गौरव र अमरज्योति गौतम बुद्धको २५६१ औं जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छिन् ।

बुद्ध जयन्तीका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय संरचनामा आधारित समावेशी, समानुपातिक एवम् लोकतान्त्रिक समाज तथा द्रूत र आर्थिक, सामाजिक विकास, दीगो शान्ति, सुशासन एवम् समृद्धितर्फ उन्मुख हाम्रो देशमा विविध जातजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउने अभियानमा गौतम बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि पे्ररणादायी एवम् अनुकरणीय रहेका बताएकी छिन् ।

सन्देशमा राष्ट्रपतिले भनेकी छिन्, “बुद्धदर्शनलाई जीवनमा आत्मसात् गर्दै स्थापित चार आर्य सत्यलाई अङ्गीकार गर्न सकेमा मात्र पनि हामीभित्र आन्तरिक शान्ति तथा भ्रातृत्व प्रर्वद्धन हुने निर्विवाद छ ।”

राष्ट्रपति भण्डारीले नेपालको पवित्रस्थल लुम्बिनीमा जन्मिएका नेपालमाताका सुपुत्र गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग रहेको आजको पवित्र दिनमा बुद्धजयन्ती मनाइरहँदा सद्भाव, मेलमिलाप र सहअस्तित्व एवम् अहिसांवादी सिद्धान्तको पालना गर्न सवैलाई प्रेरणा मिलोस भन्ने कामना गरेकि छिन् ।

यसैगरी राष्ट्रपति भण्डारीले किराँत धर्मावलम्बीहरुको पवित्र एवम् महान् उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपाली किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको कामना गरेकी छिन् ।

उभौली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताका बिचमा अनुपम एकता रहेको हाम्रो देश नेपालको मौलिक संस्कृति सहितको एक प्रमुख समुदाय किराँतहरुको उभौली पर्वले नेपालीहरुवीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने आशा लिएको उल्लेख गरेकी छिन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक संविधानको माध्यमवाट आर्थिक र सामाजिक रुपान्तरण गरी दिगो शान्ति कायम गर्ने दिशामा अग्रसर वर्तमान अवस्थामा सबै समुदायका नेपालीहरुमा राष्ट्रलाई एकता, सहिष्णुता र सद्भाव कायमगरी समृद्ध र विकसित समाज निर्माण गर्न यस महान पर्वले थप प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरिन् ।

उपराष्ट्रपतिको शुभकामना सन्देश

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको कार्यान्वयनार्थ सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन तोकिएको मितिभित्रै सम्पन्न गर्नुपर्ने राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

दुई हजार ५६१ औँ बुद्ध जयन्ती तथा किराँत जातिको उभौली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले मुखैमा आएको निर्वाचनलाई सम्बन्धित सबै पक्षबाट उत्साहका साथ सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको विकल्प नरहेको बताए ।

शान्ति अहिंसाका प्रतिमूर्ति एवम् अग्रदूत भगवान् गौतम बुद्धले देखाएको सद्मार्गमा सबैको लागि अनुकरणीय र वर्तमान विश्वमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनहरुको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताएका छन् । बुद्धको उपदेशलाई आत्मसाथ गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुन जानेछ भन्ने शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधान मन्त्रीको शुभकामना सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहालले २५६१औँ बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले एक शुभकामना सन्देश दिदै “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो भने ।”

मुलुकको बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान एवम् सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताउँदै उनले जनताको लामो सङ्घर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै संविधानको सफल कार्यान्वयनका लागि देश अहिले स्थानीय निर्वाचनमा होमिएको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले समाजका विविध क्षेत्रमा उठेका मागको सम्बोधन गरी प्राप्त उपलब्धिको जगमा अहिले देखिएका असन्तुष्टिको सम्बोधन गर्दै विकास र प्रगतिसहितको समुन्नत समाज निर्माण गर्न सबैको सकारात्मक भूमिकाको मैले अपेक्षा गरेको छु भने ।

नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताउँदै उनले सन्देशमा भनेका छन्– “शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानवजगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नुभएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शाश्वत रहेको छ ।”

प्रधानमन्त्रीले “बुद्ध विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचारहरु विश्वभर नै धेरै लोकप्रिय हुन सकेका हुन्” भन्दै गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिनुभएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौँ बताए । ‘उनको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ भने ।’

प्रधानमन्त्रीले बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी सबैलाई बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्न र सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिल्ने बताउँदै संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन यो दिनले सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना गरे ।

काँग्रेस सभापति देउवाको शुभकामना सन्देश

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीका अवसरमा बौद्ध धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्दै बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवम् सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गरेका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई कार्यान्वयन र संस्थागत गर्ने क्रममा सबै प्रयत्नरत रहेको उल्लेख गर्दै उनले दिगो शान्तिबिना मुलुकको समग्र विकास सम्भव नभएकाले हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्ने बताए ।

सभापति देउवाले सन्देशमा भने, “शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।” रासस

Tags :
प्रतिक्रिया दिनुहोस