नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण


२४ बैशाख २०७४, आइतबार


गोरखा । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता, कार्यकर्तालाई बाटो छेकेर नेकपा माओबादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ ।

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा सनिबार साँझ माओवादी केन्द्रको आक्रमणबाट नयाँ शक्तिका कार्यकर्ता सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका छन् । उनीहरुको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

माओवादी कार्यकर्ताले नयाँ शक्ति पार्टीका कार्यकर्ता चढेको ग २ च ३३६४ नम्बरको बोलेरो जीपको सीसा फुटाइदिएका छन् । इट्टा प्रहारबाट बोलेरोको अगाडि भागको सीसा फुटेको छ भने बा ३७ प २६०४ र बा ४० प ६४२७ नम्बरको मोटरसाइकल तोडफोड गरेका हुन् । साँझ पौने छ बजेतिर माओवादीले नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण गरेको बताइएको छ ।

नयाँ शक्तिबाट गोरखा नगरपालिकाको प्रमुख पदका उमेद्वार पूर्वसभासद ज्ञानेन्द्र कुमालको नेतृत्वमा देउरालीमा चुनावी सभा गरेर फर्किएको टोलीमाथि माओवादीले आक्रमण गरेका हुन् ।

कुमाल स्कारपियो गाडीमा रहेकाले आक्रमणमा परेनन् । चुनावी प्रचार टोली सवार बोलेरोमाथि माओबादीले आक्रमण गरेका प्रत्यक्षदर्शीले जनाएका छन् ।

नयाँ शक्ति पार्टीका कार्यकर्तामाथि आफूहरुले आक्रमण नगरेको गोरखा नगरपालिकाको प्रमुख पदका उमेद्वार कृष्ण रानाले दाबी गरे । उनले भने, ‘हाम्रो टोलीले लालसलाम भन्यो । उनीहरुले अश्लील इसारा गरेपछि सामान्य विवाद भएको हो । कुटपिट भएको छैन ।’ रासस

प्रतिक्रिया दिनुहोस