“साईली दिदी” « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

“साईली दिदी”


२२ बैशाख २०७४, शुक्रबार


साईली दिदी…!

ओ साईली दिदी..!
किन उदास–उदास देख्छु
लाग्दैन तिमी त तिमी जस्तै
तिमी त्यही पल्लो गाऊ कि
साईली दिदी होईनौ र ?

असारमा धान रोप्दै गर्दा
हलि दाई र बाऊसे दाईलाई
जिस्काएरै नथाक्ने
त्यो चंचल स्वभाव
कहाँ हराएर आयौ
रगत चुगिएला जस्तो
तिम्रो रातो गाला
अहिले त पतेराले चुसे जस्तै पहेला भएछन्
तिम्रा ती रसिला कलिला
ओठ पनि मरूभूमि जस्तै
सुक्खा र पट्ट–पट्ट फुटेछन्
साईली दिदी …
तिमी त तिमी जस्तै देखिदैनौ

सधै नाँची रहने तिम्रा आँखा
हराएछन् कता–कता
तिम्रो कालो लामो चुल्ठीमा
सिऊरिँदा लाली गुराँस
तिमी गुराँस भएर फुल्थ्यौ
त्यही नजिकैको गौचरनमा
ठुलो एकादशीको मेला लागेको बेला
मेला भर्न जाँदा
चम्किन्थ्यौ पूर्णिमाको जून जस्तै
उज्यालो मुहार चन्द्रमा जस्तो
औंशीको कालो बादलले
ढाके जस्तै देखिएकी छ्यौ

साईली दिदी…!

ओ साईली दिदी…..!!
गएर परदेशको भूमिमा
तिमी भित्रका सारा
उत्साह उमंड्गका रसहरू
त्यो चर्को घामले सोसे जस्तै लाग्यो

साईली दिदी…!

ओ साईली दिदी…!!
किन बोल्दिनौ
किन एकोहोरो सुसाएको हावा जस्तै
सुस्केरा मात्र छाडी रहन्छ्यौ
मयुर जस्तै सधै नाँची हिड्ने
कोईली जस्तै सधै सुरिलो स्वरमा गाईरहने
जिन्दगीलाई ईन्द्रेणी रड्गको उपमा दिने
हरेक पल उध्धानको फूलहरूलेझै सुवास छर्ने
जिन्दगीलाई धेरै मायाँ गर्ने
बैश फुलेर लटरम्म भएको बेला
तिम्रो बैशको छाहारीमा
वल्लो गाऊ पल्लो गाऊका ठिटाहरू
लालायीत हुन्थे बस्न
यत्ति छिट्टै कहाँ छाडेर आयौ तिम्रो बैश

साईली दिदी ….!

ओ साईली दिदी…!!
तिमी मनलाग्दी बहने झरना जस्तै मस्त भएर बगि रहन्थ्यौ
जब तिमी रातो गुन्यु चोलीमा सजिएर
पाऊमा पाऊजुको झन्कार दिदै मस्त चालमा
विहानीको पारिलो घाममा
हिड्थ्यौ कम्मर लच्चकाई–लच्चकाई
जवान ठिटाहरू आतुर हुन्थे
तिम्रो बाटो छेक्न
दिदैनथ्यौ भाऊ कसैलाई तिमी
मस्त हाँसेर उडाई दिन्थ्यौ
बृद्धहरू पनि त तिम्रो जवानी देख्दा
घुटुक्क थुक निल्थे
त्यो मस्त चाल
त्यो भरपुर जवानी
यत्ति छिट्टै कहाँ छाडेर आयौ
कान्तिहिन देख्छु मुहार
पुस माघको तुषारो ले नाड्गिएको बृक्ष जस्तै
रस निचोरिएको छोक्रा जस्तै
साईली दिदी….!
ओ ..साईली दिदी…!!

तिमी त तिमी भएर नचिनिने भईछौ
साईली दिदी…!
ओ…साईली दिदी….!!!

Tags :
प्रतिक्रिया दिनुहोस