क्रसर बन्दको माग गर्ने प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १४ मंसिर २०८०, बिहिबार
   

क्रसर बन्दको माग गर्ने प्रहरी नियन्त्रणमा


२२ बैशाख २०७४, शुक्रबार


कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरको मानव बस्तीनजिक सञ्चालनमा ल्याउन लागिएको क्रसर उद्योग बन्द गर्नुपर्ने माग अघि सार्दै प्रदर्शनमा उत्रिएका ११ जना स्थानीय बासिन्दालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

मापदण्ड विपरीत उद्योग सञ्चालन गर्न थालिएपछि स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका रुद्रलाल भट्ट, गङ्गादत्त भट्ट, खडकसिंह कुँवर, सुरेन्द्र राना, माया कुँवर, चक्र बम, सन्तोष पाण्डेय र बाटुली रोकायालाई प्रहरीले सुन्दरपुरबाटै नियन्त्रणमा लिएको थियो । सुन्दरसिंह बोहरा र उद्धवसिंह कठायतलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरनजिकबाट प्रहरीले नियन्त्रणमा लिइएको स्थानीयवासी भोजराज पन्तले जानकारी दिए ।

क्रसर उद्योग सञ्चालकले प्रारम्भिक वातावरण परीक्षणमा उल्लेख गरिएका बुँदाहरु अनिवार्य पालना नगर्दा उद्योग बन्दको माग अघि सार्दै सङ्घर्षमा उत्रिनु परेको उनीहरुले बताए ।

परीक्षण प्रतिवेदनमा क्रसर मेसिनका लागि सेड राख्नुपर्ने, मध्यवर्ती क्षेत्रमा वृक्षरोपण गर्नुपर्ने, घनाबस्ती ९१ हजार वा सोभन्दा बढी जनसङ्ख्या वा दुई सयभन्दा बढी घरधुरी एकै ठाउँमा केन्द्रित भई बसोबास गरिरहेको क्षेत्रबाट कम्तीमा दुई किमी पर उद्योग स्थापना गर्नुपर्ने लगायतका प्रावधान पालन नगरिएको स्थानीय बासिन्दाको भनाइ छ ।

नियम विपरीत सञ्चालन हुन लागेको क्रसर उद्योगलाई बन्द गराउन घरेलु तथा साना उद्योग कार्यालय तथा जिल्ला प्रशासन कार्यालयलाई त्यहाँका स्थानीय बासिन्दाले पत्राचार गर्दासमेत सुनुवाई हुन नसकेपछि सङ्घर्षमा उत्रिएको सङ्घर्ष समितिका हरिप्रसाद भट्टले बताए ।

क्रसर उद्योगनजिकै उदयदेव उच्च मावि, कृषि विभाग बाली विकास निर्देशानालयअन्तर्गत क्षेत्रीय बीउबिजन प्रयोगशाला, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, क्षेत्रीय कृषि तालिम केन्द्र, बेदकोट नगरपालिका कार्यालय, इन्द्रेणी कृषि सहकारी संस्था लिमिटेड र चन्द्रदेवल बोर्डिङ स्कुललगायत स्थानीय बासिन्दाको घना बस्ती रहेको छ ।

क्रसर उद्योग सञ्चालनका लागि स्थानीय प्रशासनले समेत दबाब दिँदै आएको स्थानीय बासिन्दाको भनाइ छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा स्थानीय बासिन्दाका प्रतिनिधि, क्रसर उद्योग सञ्चालक र स्थानीय प्रशासनका प्रतिनिधिबीच क्रसर उद्योग सञ्चालन गर्न दिने वा नदिनेबारे छलफल हुने भएको छ ।

यस स्थानमा कञ्चनपुरका व्यवसायी तेज चन्द, नारद पाण्डेय र खिमानन्द अवस्थीले मिलेर सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योग सञ्चालन गर्न लागेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस