‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार श्रेष्ठ, प्रधान, शाह र मल्ललाई’ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार श्रेष्ठ, प्रधान, शाह र मल्ललाई’


२१ बैशाख २०७४, बिहिबार


काठमाडौँ । यस वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार सङ्गीतकार रायन (नारायणभक्त श्रेष्ठ), नृत्य निर्देशक राधेश्याम प्रधान, लोक गायिका चन्द्रकला शाह र नाटककार अशेष मल्ललाई प्रदान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सातौँ वार्षिकोत्सवका अवसरमा बिहिबार आयोजित ‘पुरस्कार वितरण’ समारोहमा जनही एक लाख राशिको सो पुरस्कार प्रदान गरिन् ।

वि.सं. २००० मा ओखलढुङ्गामा जन्मिएका रायन (नारायण श्रेष्ठ) का ‘टुकी’ (कथा), ‘जितेन्द्र’ (कथा), ‘वेदना’ (गीति सङ्ग्रह) र ‘कहाली’ (गीति नाटक) लगायतका कृति प्रकाशित छन् । वि.सं. २००५ मा काभ्रेमा जन्मिएका राधेश्याम प्रदानले विभिन्न विद्यालय, विश्वविद्यालय र क्लवमा नृत्य प्रशिक्षण दिदैं आएका छन् ।

त्यसैगरी २००६ सालमा दाङमा जन्मिएकी गायिका चन्द्रकला शाहका ‘छ भने मायाँ छपकै लाइदेऊ’, ‘खर काटी खरौली’ र ‘मोहनी लगायौँ कि’ लगायतका दर्जनौँ चर्चित गीत बजारमा उपलब्ध छन् । वि.सं. २०११ मा धनकुटामा जन्मिएका नाटककार अशेष मल्लले ‘शकुनी पासाहरू’, ‘रक्तबीज’ र ‘अनादिक्रम’ लगायतका नाटक प्रकाशन गरेका छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको गौरवलाई अझ माथि उठाउन साहित्य, सङ्गीत र कलालाई राष्ट्र प्रेमको भावनाले ओतप्रोत तुल्याउनु आवश्यक रहेको बताइन् ।

उनले भनिन्–“नेपालमा संविधान जारी भई देश सङ्घीय संरचना अगाडि बढिसकेको परिपेक्षमा प्रज्ञा– प्रतिष्ठानले पहिलोपटक प्रादेशिक आधारमा सङ्गीत, नृत्य र नाट्यसम्बन्धी अनुसन्धान परियोजना सञ्चालन गर्नु आफैँमा सकारात्मक पक्ष हो ।”

“प्रज्ञा–प्रतिष्ठानको गरिमा, विकास र सुदृढीकरण गरी हाम्रा गौरवशाली सिर्जनाको संरक्षण तथा सम्वद्र्धन गर्नका लागि भौतिक पूर्वाधार अपरिहार्य भएकाले यसमा सम्बन्धित पक्षले समयमै यथोचित ध्यान दिनेछ भन्ने अपेक्षा गर्दछु”– राष्ट्रपति भण्डारीले भनिन् ।

प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरूभक्त)ले समग्र सांस्कृतिक पक्षको विकास, प्रवद्र्धन एवम् नेपालको विविधतामा एकतायुक्त मौलिक सांस्कृतिक योजना निर्माणका लागि सांस्कृतिक नीतिको आवश्यकता रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस