जलजला क्षेत्रको संरक्षणका लागि गुरुयोजना बनाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जलजला क्षेत्रको संरक्षणका लागि गुरुयोजना बनाइने


१२ बैशाख २०७४, मंगलबार


रोल्पा । धार्मिक तथा पर्यटकीयस्थल जलजला क्षेत्रको संरक्षणका लागि जिल्ला वन कार्यालय रोल्पाले गुरुयोजना बनाउने भएको छ ।

जिल्ला वन क्षेत्र समन्वय समितिको यसै साता लिबाङमा सम्पन्न बैठकले गुरुयोजना बनाउने निर्णय गरेको सहायक वन अधिकृत भरत श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार आव २०७३/०७४ को वार्षिक स्वीकृत कार्यक्रमको राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत पश्चिम पहाड भूपरिधि नमुना कार्यक्रमका लागि विनियोजित बजेटमार्फत गुरुयोजना बनाउन लागिएको हो ।


जलजला वन क्षेत्रको वरिपरि साविकका कुरेली, मिरुल, थबाङ, उवा, सेरम, गाम, जैमाकसला, जेलबाङ, धबाङ, ह्वामा, जङ्कोटलगायतका ११ गाविस रहेका छन् ।


जिल्ला वन कार्यालय रोल्पाका अनुसार सदरमुकाम लिबाङबाट करिब पाँच किलोमिटर दूरीमा उत्तरतर्फबाट जलजला क्षेत्रको सुरुवात भई उत्तरमा रुकुम जिल्लाको सिमानासम्म फैलिएर रहेको छ । जलजला वन क्षेत्रको वरिपरि साविकका कुरेली, मिरुल, थबाङ, उवा, सेरम, गाम, जैमाकसला, जेलबाङ, धबाङ, ह्वामा, जङ्कोटलगायतका ११ गाविस रहेका छन् ।

यो क्षेत्र समुद्री सतहबाट ९९० मिटरदेखि ३,२९५ मिटरसम्मको उचाइमा फैलिएर रहेको छ । जलजला क्षेत्रको आसपास स्थानमा आवश्यक पर्ने पानीका स्रोत पनि जलजला क्षेत्रको वनबाट आपूर्ति भइरहेको छ ।

यस क्षेत्रमा विभिन्न प्रकारका वन्यजन्तु–रेड पान्डा, भालु, चितुवा, वन बिरालो, आदि पाइन्छन् । जलजलासँग बाग्लुङको घना वनलाई जोडेर ढोरपाटन सिकार आरक्षसम्म जैविक मार्गका रुपमा विकास गर्न सकेमा दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुको आवागमन हुनसक्ने वन अधिकृत भीमबहादुर कालीकोटेको भनाइ छ ।

जलजला क्षेत्र जैविक विविधता, वन्यजन्तु, पानीको स्रोत, खोलानाला, तथा पोखरीजस्ता प्राकृतिक सम्पदाले सम्पन्न छ । यस क्षेत्रमा दुर्लभ, महत्वपूर्ण तथा बहुमूल्य जडीबुटी जस्तैः टिमुर, चिराइतो, सुगन्धकोकिला, पाँचऔले, कुट्की, रोजमेरी, गुच्छी च्याउ आदि पाइन्छन् ।


यस क्षेत्रमा दुर्लभ, महत्वपूर्ण तथा बहुमूल्य जडीबुटी जस्तैः टिमुर, चिराइतो, सुगन्धकोकिला, पाँचऔले, कुट्की, रोजमेरी, गुच्छी च्याउ आदि पाइन्छन् ।


जलजला वन क्षेत्रभित्र स्थानीय जनताको सहभागितामा ११२ वटा सामुदायिक वन उपभोक्ता समूह र २९ वटा कबुलियती वन उपभोक्ता समूहले वनको संरक्षण, सम्बद्र्धन र उपयोग गरिरहेका छन् । यसरी हस्तान्तरित वनको कुल क्षेत्रफल ५९३४.८० हेक्टर र कबुलियती वनको १०२.७० हेक्टर रहेको छ भने सामुदायिक वन उपभोक्ताको घरधुरी सङ्ख्या जम्मा ७७५२ रहेको कालीकोटेले जानकारी दिए ।

उनका अनुसार जिल्लाको जलजला वन क्षेत्रको प्राकृतिक सम्पदा व्यवस्थापन, पर्या पर्यटन प्रवद्र्धन, जैविक विविधता संरक्षण, जडीबुटी संरक्षण तथा विस्तार, लोपोन्मुख वन्यजन्तु एवम् वनस्पति, कृषि, वन प्रवद्र्धन, आयआर्जन तथा वन पैदावारमा आधारित उद्यम विकासलगायतका विषयवस्तु समावेश गरी गुरुयोजना बनाइनेछ ।

वन अधिकृत कालीकोटेका अनुसार जलजला क्षेत्रको स्थलगत अनुगमन तथा भौगोलिक सूचना प्रणालीको विश्लेषण गरी गुरुयोजना तयार गरिनेछ ।

यसैगरी, जिल्ला वन कार्यालयकै आव २०७३÷०७४ को स्वीकृत वार्षिक कार्यक्रमको वृक्ष सुधार, वृक्षरोपण तथा निजी वन कार्यक्रमअन्तर्गत नगरपालिकामा वृक्षरोपणसहित उद्यान निर्माण हुने भएको छ । यसका लागि बैठकले लिबाङ नगरपालिकाको सातदोबाटो चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस