सरकारले सबैको सहमतिमा निर्वाचन गराउने – उपप्रधानमन्त्री थापा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारले सबैको सहमतिमा निर्वाचन गराउने – उपप्रधानमन्त्री थापा


९ बैशाख २०७४, शनिबार


विराटनगर । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले सरकार सबैको सहमति र सहभागितामा निर्वाचन गराउने वातावरण निर्माण गर्न लागेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सनिवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री थापाले सो वातावरण मिलाउनका लागि मधेसी मोर्चासँग निरन्तर छलफल जारी रहेको जानकारी गराए ।

मधेसी मोर्चासँग सहमति भए स्थानीय तहको निर्वाचन दुई चरणमा हुने उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले मधेसी मोर्चाले स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने माग राखेको जानकारी गराए ।

मधेसी मोर्चासँग सहमति भए वैशाख ३१ गते नै सबै क्षेत्रमा निर्वाचन हुने स्थिति नरहेको भन्दै उनले केही जिल्लामा जेठभित्र दोस्रो चरणमा निर्वाचन गराउने विषयमा पनि सहमति हुनसक्ने स्पष्ट पारे । उनले मधेसी मोर्चासँग सहमति हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सहमति लिनुपर्ने पनि बताए ।

पत्रकारको जिज्ञासामा उनले स्थानीय तहलाई प्राप्त अधिकारलाई खोस्न नहुने स्पष्ट पार्दै राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिलाई पनि मतदानको अधिकार दिनुपर्ने धारणा राखे ।

उपप्रधानमन्त्री थापाले नेपाल सरकारको सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने र प्रदेशमा अन्य भाषा राख्न सकिने पनि स्पष्ट पारे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस