कागबेनी दुर्घटनामा ज्यान गुमाउने पाँच पुगे « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कागबेनी दुर्घटनामा ज्यान गुमाउने पाँच पुगे


९ बैशाख २०७४, शनिबार


मुस्ताङ । मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ ।

आज १२ः३० बजे बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–४ मा ना५ख ६०६७ नंको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र दुईजनाको उपचारका लागि जिल्ला अस्पताल मुस्ताङ ल्याउँदा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, मुस्ताङका प्रहरी नायब उपरीक्षक हरिहर योगीले दिए जानकारीअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौँ सुविधानगरका ५८ वर्षीय भोला अधिकारी, काठमाडौँ कोटेश्वरका ४२ वर्षीय पुरुषोत्तम ढकाल, महालक्ष्मी नगरपालिका–२ ललितपुरका ५५ वर्षीया लीला खड्का, चागुनारायण–८ की सीता तिमिल्सिना र कागेश्वरी–३ का क्रान्ति खड्काको ज्यान गएको हो । उनीहरुको शव जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ ल्याइएको छ ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था अत्यन्त गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, मुस्ताङले जनाएको छ । २६ सिट क्षमताको बस भए पनि बसमा ३५ जना सवार थिए । सामान्य घाइतेको जिल्ला जनस्वास्थ्य कार्यालयमा उपचार भइरहे पनि गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत पोखरा लैजाने तयारी भइरहेको प्रहरी नायक उपरीक्षक योगीले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस