बन्दैन देश « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बन्दैन देश


९ बैशाख २०७४, शनिबार


कामको सिलसिलामा त्यो सहर पनि पुगेँ म । मैले असाध्यै मायाँ गर्ने त्यहाँको शिक्षालय पनि छिरें । मैले बीस बर्ष बिताएको ठाउँ हो त्यो ।

आफूले बढो मेहनतले लेखेको पुस्तक त्यस शिक्षालयको पुस्तकालयमा रहोस् र त्यहाँ अध्ययनरत भाइबैनाले पढ्न पाउन् भन्ने मेरो धोको थियो ।

“म यो पुस्तक यस पुस्तकालयलाई प्रदान गर्न चाहन्छु, स्विकार गर्नुहोस् !” मैले राता अक्षरमा आफ्न्नो छोटो उदगारसहित सही गरेर लाइब्रेरेयनलाई बुझाउन खोजेँ ।

“यहाँ लिन मिल्दैन । जानुस् दाखिला गरेर ल्याउनुहोस् ।” उल्टै मलाई अह्राए लाइब्रेरियनले ।

झन्का त उठ्यो । तैपनि इच्छा पूरा गरूँ न त भनेर म स्टोर कोठामा गएँ र उस्तै आग्रह गरें ।

“तोक नलगाई मैले बुझ्न मिल्दैन । हाकिम सा’पकोमा लेखाएर ल्याउनुस !” मैले दिएको पुस्तक हातमा लिएर एक पटक फ्र्यार्यायार्र पल्टाए र मैपट्टी हुर्र्याउँदै स्टोरकीपरले भने ।

मेरो मथिङ्गलको झ्याउँकिरी झन् झन् झन्किन लाग्यो । एक मनले त भन्यो कानमा च्याप्प समाएर उसलाई भनूँ कि “राँगोलाई पोसेजस्तो महिनैपिच्छे तलब किन पोसेको छ हँ सरकारले तिमीलाई ? यत्ति पनि सहजीकरण गर्न सक्दैनौ ? नमकहराम !” तर मनमनै उकुसमुकुस भएको ज्वालाले मुख रातो भयो, बस् । म हिँडें केही नबोली ।

हाकिम कस्ता थिए देखिन, उनलाई भेट्नै मन लागेन ।

काम सकेर हप्ता दिनपछि घर फर्किएँ । सधैं घर फर्किँदा हाँसीखुसी देखिने श्रीमती आज निरास देखिन्थिन् ।

“बुझ्नुभो, यो देश अझै सय बर्षसम्म पनि बन्दैन !” खुइय गर्दै भनिन् उनले । बिजुलीको महसुल तिर्न तीन घण्टा घाममा उभिनु परेको र फिर्ता पाउनु पर्ने रकम समेत नपाएकोमा नाखुस रहिछन् उनी ।

झोलाबाट शिक्षालयलाई उपहार दिन हस्ताक्षर गरेको पुस्तक निकालेर उनीतिर आफाल्दै मैले पनि थपें–

“सय हैन बा ! यो देश अझै हजार बर्षमा पनि सुध्रिँदैन !”

Tags :
प्रतिक्रिया दिनुहोस