छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


प्रशासन संवाददाता

४ बैशाख २०७४, सोमबार


बस दुर्घटना

नवलपरासी । नवलपरासीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

सुनवल नगरपालिका–१२ बडेरास्थित पूर्व–पश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ग२च २६ ५४ नंको पिकअप भ्यानले खाना खान रोकेको ना५ख ३८३६ नंको बसका सहचालक सुर्खेत पिपराका अन्दाजी १८ वर्षीय महेन्द्र बुढालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

राति भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा सोमवार बिहान मृत्यु भएको हो ।

यस्तै, आइतवार राति गैँडाकोट–१२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

ना२०प ४२५१ नंको मोटरसाइकलले साइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय रविलाल पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा सोमवार बिहान मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल, पिकअप भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

बस दुर्घटनामा चौध यात्रु घाइते
यसैवीच, बागलुङको काठेखोला गाउँपालिका–५ जुगेपानीमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

काठमाडौँबाट बुर्तिबाङतर्फ जाँदै गरेको ना६ख ३०६० नम्बरको रात्री बस सोमवार बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते बुङ्गादोभानका ४८ वर्षीय जितबहादुर खड्का, बुर्तिबाङका ५० वर्षीया तिलदेवी छन्त्याल, बुङ्गादोभानकै ५५ वर्षीया जोमसरा बुढा र बुर्तिबाङ, रिठाबोटका ४३ वर्षीया लीला बिसीको धवलागिरि अञ्चल अस्पताल, बागलुङमा उपचार भइरहेको छ ।

घाइतेहरुको मुख, ढाडलगायतका अङ्गमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल खड्काले जानकारी दिए। चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस