कञ्चनपुर प्ले अफमा पुगने सम्भावना जीवितै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कञ्चनपुर प्ले अफमा पुगने सम्भावना जीवितै


प्रशासन संवाददाता

४ बैशाख २०७४, सोमबार


धनगढी । सिवाइसी अत्तरियालाई पराजित गर्दै कञ्चनपुर आइकोनिक सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको प्ले अफमा पुगने सम्भावना जीवितै राखेको छ ।

अञ्चल प्रहरी कार्यालयको मैदानमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियालाई ६ विकेटले पराजित गर्दै कञ्चनपुरले प्ले अफ पुग्ने सम्भावना जीवितै राखेको हो ।

प्ले अफ पुग्न महत्वपूर्ण मानिएको खेल गुमाएपछि ज्ञानेन्द्र मल्लको कप्तानमा रहेको अत्तरिया डीपीएलबाट बाहिरिएको छ । यससँगै अत्तरिया ६ टोलीको सहभागिता रहेको डीपीएलबाट बाहिरिने पहिलो टोली बन्यो । अत्तरियाको हारपछि काठमाडौं गोल्डेन्स नेट रनरेटको आधारमा प्ले अफमा पुग्न सफल भयो ।

गोल्डेन्स, कञ्चपुर र अत्तरियाको समान ४ अंक छ । रूपन्देही शीर्षस्थानमा रहँदै प्ले अफमा पुगिसकेको छ । आइतबार रूपन्देहीसँग पराजित भएपनि विराटनगर किङ्स दोस्रो स्थानमा रहँदै प्ले अफ पुगिसकेको छ ।

कञ्चनपुर र पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहामध्ये एउटा प्ले अफमा पुग्ने अन्तिम टोली बन्नेछ । पारसको टोलीले लिगको अन्तिम खेलमा शक्ति गौचनको नेतृत्वमा रहेको अपराजित रूपन्देहीसँग खेल्नेछ । सोमबार हुने खेल जितेमा मात्र पारस टोली अघि बढ्ने सम्भावना रहन्छ ।

शक्तिको टोलीसँग हारेमा भने टोली स्वतः बाहिरिनेछ । अत्तरियषले दिएको ८६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले १० ओभरमा ४ विकेट गुमाउँदै ९० रन जोड्यो । कञ्चनपुरका लागि ओपनर सागर पुन र सुनिल धमलाले राम्रो सुरुवात दिलाउँदै टोलीको जितको आधार तयार पारेका थिए । सागरले २२, सुनिलले २८, हसिम अन्सारीले २२ र विनोद भण्डारीले अविजित १६ रन बनाएका थिए ।

अत्तरियाका लागि विनोद लामाले २, ज्ञानेन्द्र कुँवरले १ विकेट लिए । टस हारेर ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८५ रनको झिनो स्कोर बनाएको थियो । टोलीका लागि प्रदीप ऐरी १९, दीलिप नाथले ११, ज्ञानेन्द्र कुँवरले अविजित ११ र सुरेन्द्र चन्दले १० रन बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कञ्चनपुरका लागि सुनिल धमाला, अभिनाष कर्णले समान ३, सागर पुन, आशिष पोखरेल र चन्द्र साउदले समान १ विकेट लिए । कञ्चनपुरका सुनिल धमला खेलेको म्यान अफ दी म्याच घोषित भए । यस्तै आइतबारै भएको अर्को खेलमा लिगमा अपराजित रूपन्देही च्यालेन्जर्सले विराटनगर किङ्सलाई ६१ रनले पराजित ग¥यो । रूपन्देहीले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ३२ रनको योगफल तयार परेको थियो ।

रूपन्देहीका लागि अन्तिम थापाले ४२ बलमा १ छक्का र ५ चौकाको मद्दतले ४५ रन बनाए । कृष्ण कार्कीले १६ बलमा २ छक्का र १ चौकाको मद्दतले २२ रन बनाए । विराटनगरको लागि सुशील कँडेल र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । पवन शर्राफ, सन्दीप लामिछाने, शरद भेषावकर र किशोर महतोले १–१ विकेट हात पारे ।

१ सय ३३ रनको लक्ष्य पछ्याएको विराटनगर १८।१ ओभर खेल्दै सबै विकेट गुमाएर ७१ रनमात्र बनाउ सक्यो । विराटनगरका लागि कप्तान शरद भेषवाकरले ३४ रन बनाउनुबाहेक अन्य ब्याट्स म्यानको प्रदर्शन फितलो देखियो ।

रूपन्देहीका लागि साहब आलमले ४ तथा दिपेश श्रेष्ठ र कृष्ण कार्कीले ३–३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस