सोल (बीबीसी) । दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियाले गरेको एउटा क्षेप्यास्त्र परीक्षणको प्रयास विफल भएको बताएको छ। अमेरिकी रक्षा मन्त्रलाय पेन्टागनले उक्त परीक्षणको पुष्टि गर्दै सो ब्यालेस्टिक क्षेप्यास्त्र तत्कालै पडकिएको जनाएको छ।
शनिबार मात्रै एक जना उत्तर कोरियाली सैनिक अधिकारीले अमेरिकाले कुनै किसिमको आक्रमण गरे जवाफ दिन तयार रहेको प्रतिक्रिया दिएका थिए ।
कोरियाली प्रायद्वीपमा तनाव बढ्दै जाँदा यसअघि चीनले त्यहाँ जुनसुकै बेला द्वन्द्व शुरु हुन सक्ने चेतावनी दिएको थियो ।
उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा अवस्थित सिन्पो नजिकै गरिएको उक्त परीक्षण गरिएको खबर उत्तरले आफ्ना संस्थापक नेताको सम्मानमा भव्य परेड आयोजना गरेको भोलिपल्टै आएको हो ।
सो सैन्य प्रदर्शनीमा नयाँ प्रकृतिका ब्यालेस्टिक क्षेप्यास्त्रहरु पनि देखाइएका थिए।
तर आइतबार परीक्षण गरिएको क्षेप्यास्त्रको प्रकार भन्ने अझै खुलेको छैन । दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियाले प्रकार नखुलेको क्षेप्यास्त्र परीक्षणको प्रयास गरेको र त्यो असफल भएको जानकारी दिएको छ। उसले त्यसबारे आफूले थप छानविन गरिरहेको पनि जनाएको छ। यसअघि नै उत्तर कोरियाले पाँच वटा परमाणु अस्त्र परीक्षण गरेको छ र श्रृखंलाबद्ध रुपमा क्षेप्यास्त्रहरुको परीक्षण गरेको छ।
अमेरिकी सेनाको प्रशान्त महासागरमा रहेको कमान्डले उक्त असफल परीक्षणको पुष्टि गरेको छ।
यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्स उत्तर कोरियाको क्षेप्यास्त्र तथा परमाणु कार्यक्रमबारे छलफल गर्न दक्षिण कोरियाको राजधानी सोल पुग्दैछन्।
यसअघि यसै महिनाको सुरुमा चीन र अमेरिकी नेताहरुबीच वार्ता चलिरहँदा उत्तर कोरियाले उक्त क्षेत्रबाटै एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।







