पर्यटकीय ‘टोड्के’मा पूर्वाधार अभाव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्यटकीय ‘टोड्के’मा पूर्वाधार अभाव


३ बैशाख २०७४, आइतबार


म्याग्दी । म्याग्दीको सम्भावनायुक्त पर्यटकीयस्थल टोड्के पूर्वाधार र प्रचारप्रसारको अभावले पछाडि परेको छ । गत वर्ष सरकारले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको सिफारिसमा प्रचुर पर्यटकीय सम्भावना बोकेको टोड्केलाई पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको थियो । तर आवश्यक पूर्वाधार अभाव र प्रचारप्रसारमा भएको कमीले यथेष्ट मात्रामा पर्यटक भित्रन सकेका छैनन् ।

प्राकृतिक र धार्मिक पर्यटनको दृष्टिकोणमा सम्भावनायुक्त स्थल ‘टोड्केको डाँडो’ समुद्री सतहदेखि दुई हजार ३८० मिटरको उचाइमा अवस्थित छ । मङ्गला गाउँपालिको पूर्णगाउँ, रघुगङ्गा गाउँपालिकाको झीँ र बेनी नगरपालिकाको वाखेतको सीमा क्षेत्रमा पर्ने टोड्के मनोरम हिमशृङ्खलाको दृष्यावलोकन गर्ने उपयुक्त स्थान मानिन्छ ।

पर्यटन विकासको सम्भावनायुक्त स्थान भए पनि व्यवस्थित बस्ने खाने होटल र पदमार्गको अभावसँगै प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको हो । पर्याप्त मात्रामा पर्यटक भित्रन नसकेपछि पूर्णगाउँ, झीँ र वाखेतमा सञ्चालन गरिएका होमस्टेसमेत राम्ररी चल्न सकेका छैनन् ।


प्राकृतिक र धार्मिक पर्यटनको दृष्टिकोणमा सम्भावनायुक्त स्थल ‘टोड्केको डाँडो’ समुद्री सतहदेखि दुई हजार ३८० मिटरको उचाइमा अवस्थित छ ।


यस क्षेत्रमा पुग्नका लागि पदमार्ग र सडक दुवैको पहुँच भए पनि दुवैको स्तर राम्रो नभएकाले समस्या देखिएको हालै टोड्के पुगेका म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले बताए । गुराँसे जङ्गल र मनोरम हिमशृङ्खलाको अवलोकनका लागि प्रसिद्ध मानिएको टोड्केमा पछिल्लो समय भ्रमण र वनभोजका लागि आन्तरिक पर्यटक पुग्नेक्रम बढे पनि पूर्वाधारको अभावले थप पर्यटन प्रवद्र्धनमा समस्या देखिएको छ ।

विशेष गरी पदमार्ग र सडकको स्तरोन्नति र पर्यटकको बसोबासका लागि सामुदायिक लज निर्माणसँगै होमस्टे सञ्चालन गर्ने योजना अगाडि सारे पनि बजेट अभावले कार्यान्वयन गर्न नसकिएको टोड्के क्षेत्र विकास कोषका उपाध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम) ले बताए ।

एकै ठाउँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे गणेश, गुर्जालगायतका हिमालको मनोरम दृष्यसँगै म्याग्दी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न पाउनु टोड्के क्षेत्रको विशेषता हो । रङ्गीचङ्गी गुराँसे जङ्गल, सूर्योदय, पहाडी भूगोलले टोड्के क्षेत्र सम्भावनायुक्त रहेको पहिलोपटक टोड्के पुगेका बेनीका रुद्र गुरुङले बताए ।

अहिलेको याममा जिल्लाका विभिन्न ठाउँबाट राताम्मे फुलेको लालीगुराँसको जङ्गलमा रमाउनका लागि र वनभोजका लागि जानेको सङ्ख्या बढेको देउराली युवा क्लब, कुहुँका एकजित रोकाले बताए ।


एकै ठाउँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे गणेश, गुर्जालगायतका हिमालको मनोरम दृष्यसँगै म्याग्दी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न पाउनु टोड्के क्षेत्रको विशेषता हो ।


यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टोड्के क्षेत्र विकास कोषले विभिन्न सङ्घसंस्थासँगको समन्वयमा टोड्केमा आवश्यक भौतिक पूर्वाधार निर्माणसँगै पर्यटन गतिविधिलाई अगाडि बढाएको छ । भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि जिविस र पर्यटन कार्यालय पोखराको सहयोगमा भवन, शौचालय, सडकलगायत केही पूर्वाधार निर्माण भएको छ ।

अहिले स्थानीयवासीले टोड्केमा खानेपानी सुविधा र सामुदायिक लज स्थापनाको योजनासँगै बोटानिकल गार्डेन बनाउने अवधारणलाई अगाडि सारेका छन् । जैविक विविधतायुक्त क्षेत्र भएकाले जडीबुटी, कृषि र पर्यटन क्षेत्रलाई एकीकृत रुपमा विकास गर्न सके टोड्के क्षेत्रको विकास हुने स्थानीय युवा गजेन्द्र केसी बताउछन् ।

कोषकै पहलमा गत वर्षको फागुनमा ‘दोस्रो टोड्के’ महोत्सव गरिएको थियो । प्राकृतिक रुपमा सु–सज्जित टोड्के क्षेत्र धार्मिक दृष्टिकोणमा समेत महत्वपूर्ण मानिन्छ । प्यूठानमा अवस्थित स्वर्गद्वारी महाप्रभु आएर तपस्या गरेको र उनका अनुयायीहरुसमेत वर्षौंसम्म टोड्केमा बसेको स्थल अहिले पनि संरक्षित छ ।

टोड्केमा तत्कालीन महाप्रभुले तपस्या गरेको स्थानमा अहिले एउटा मन्दिर र आश्रम पनि छ । टोड्के क्षेत्रलाई जिल्लाका प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम, पुलाश्रम, जगन्नाथसँगै मालिकाधुरी र रिखार क्षेत्रलाई समेटेर धार्मिक गन्तव्यका रुपमा समेत विकास गर्न सकिने सम्भावना रहेको स्थानीयवासी प्रेमप्रसाद रेग्मीको भनाइ छ ।

प्रचुर धार्मिक एवम् पर्यटकीय सम्भावना बोके पनि आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा ‘बत्तीमुनिको अँध्यारो’का रुपमा रहेको टोड्के क्षेत्रमा बढीभन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकेमा यसले स्थानीयवासीको आयआर्जन र रोजगारी वृद्धि गर्नुको साथै गाउँपालिका र नगरपालिकाको समेत आम्दानीको स्रोत बनाउन सकिने देखिन्छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस