जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख


२१ चैत्र २०७३, सोमबार


बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई निकुञ्जले राहतस्वरुप १० लाख प्रदान गरेको छ ।

आइतबार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका–२ कर्मलाका विश्रामवादीलाई बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले राहतस्वरुप १० लाखको चेक हस्तान्तरण गरे ।

जङ्गली हात्तीले कुल्चिँदा एकमात्र छोराको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयवासी सडकमा उत्रिएर शव उठाउन नदिएपछि निकुञ्जसँग वार्ता गर्दा विश्रामवादी पीडित भएको भन्दै स्थानीयवासी र श्रीरामनगर उपभोक्ता समितिको पहलमा थप पाँच लाख राहत रकम प्रदान गरिएको हो ।

मृतकका बुबालाई जीविकोपार्जनका लागि आयमूलक कार्यक्रममा समेत सहयोग गर्ने निकुञ्जले जनाएको छ । सरकारले वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई पाँच लाख राहत रकम उपलब्ध गराउने व्यवस्था छ तर एक महिना अघिदेखि जङ्गली हात्तीले निकुञ्ज आसपासका गाउँमा आतङ्क मच्चाइरहेका बेला हात्तीले कुल्चिँदा एक मात्र छोराको ज्यान गएपछि श्रीरामनगर उपभोक्ता समिति र अन्य सङ्घसंस्थाको सहयोगमा थप पाँच लाख गरी राहतस्वरुप १० लाख प्रदान गरिएको हो ।

वन्यजन्तु संरक्षणमा लाग्दालाग्दै वन्जन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारजनलाई राहतस्वरुप प्रदान गरिने पाँच लाख रकमबाट बढाएर १० लाख राहत रकम उपलब्ध गराउन प्रस्ताव गरिएको निकुञ्जका निमित्त संरक्षण प्रमुख थापाले बताए ।

निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्ती भगाउन गएका बेला हात्तीले कुल्चिँदा गत फागुन २४ गते ठाकुरबाबा–२ कर्मलाका २० वर्षीय विजय बादी नेपालीको ज्यान गएको थियो । बर्दिया निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले कुल्चिँदा एक वर्षभित्र छ जनाको ज्यान गइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस