पर्वतमा गाउँलेको श्रमदानमा पर्यटकीय पदमार्ग निर्माण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्वतमा गाउँलेको श्रमदानमा पर्यटकीय पदमार्ग निर्माण


प्रशासन संवाददाता

२१ चैत्र २०७३, सोमबार


पर्वत । पर्वतको एक विकट गाउँका बासिन्दाले श्रमदानमा पर्यटकीय पदमार्ग निर्माण गरेका छन् ।

पर्वतको प्रसिद्ध पर्यटकीयस्थल हम्पालको जलजला हुँदै म्याग्दीको मोहरेडाँडा पुग्ने एक हजार १०० मिटरको पर्यटकीय पदमार्ग उत्तरी पर्वतको लेस्पारवासीले श्रमदानमा निर्माण गरेका हुन् ।

लेस्पार हुँदै मोहरेडाँडासम्म पुग्नका लागि पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले गाउँले रु पाँच लाख बराबरको श्रमदानमा पदमार्ग मर्मत तथा निर्माण गरेका हुन् ।

मोदी गाउँपालिका–४ क्याङ लेस्पारको खर्सुबास र रेशपातल सामुदायिक वन समूहमा आबद्ध उपभोक्ताले ३५ वर्षदेखि पर्यटकलाई आवातजावत गर्न असहज हुँदै आएको पदमार्गको पूर्णरुपमा मर्मत कार्य गरेर सहज बनाइएको स्थानीयवासी नरसिंह पुनले जानकारी दिए ।

पदमार्ग निर्माण भएपछि पर्वतको सबैभन्दा अग्लो तीन हजार ३०० मिटर उचाइमा रहेको हम्पाललेकदेखि मोहरेडाँडामा पुग्न सहज हुने भएको छ । विगतका समयमा लेस्पारबाट मोहरेडाँडा पुग्न छ घन्टा लाग्ने पदमार्ग मर्मतपछि छोटिएर चार घन्टामा नै पुग्न सकिने भएको छ ।

कास्कीको नयाँपुल, मोहोरीया, लेस्पार हुँदै म्याग्दीको नागी, पुनहिल र मोहोरेडाँडा, फामेडाँडा जानका लागि आन्तरिक तथा बाह्य पर्यटकले उक्त पदमार्गको प्रयोग गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस