सप्तरी । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शान्तिपूर्ण आन्दोलनलाई सरकारले कमजोरी ठानेर प्रहरी दमन गरेमा त्यसको जवाफ जनताले दिने बताएका छन् ।
सङ्घीय प्रेस फोरम सप्तरीले आइतवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्षमा सप्तरी घटना राज्यको नश्लवादी चिन्तनको उपज भएको आरोप लगाए ।
स्थानीय तहको संरचना गलत एवम् अव्यावहारिक भएको तथा मधेस, पहाड र हिमालमा बस्ने जनतामा विभेद भएको बताउँदै संविधानमा देखिएको त्रुटिपूर्ण एवम् कमजोरी पक्ष अविलम्ब संशोधन गर्नुपर्नेमा अध्यक्ष यादवले जोड दिए ।
सङ्घीय प्रणालीमा देश गइसकेको अवस्थामा चुनावको कुनै औचित्य नरहेको बताउँदै उनले जबर्जस्ती चुनाव गराउन खोजिए सङ्घीय गठबन्धन र मधेसी मोर्चाले त्यसको प्रतिकार गर्ने चेतावनी दिए ।
उनले कञ्चनपुर घटनाका बारे सरकारले सत्यतथ्य जवाफ दिनुपर्ने र त्यसको निष्पक्ष न्यायिक छानबिन हुनुपर्ने माग पनि गरे । रासस