अँ हँ, ओ बा कति सालमा व्ये गर्या रे मलाई ? « प्रशासन
prasaLogo
२९ फाल्गुन २०७३, आईतवार

अँ हँ, ओ बा कति सालमा व्ये गर्या रे मलाई ?


प्रकाशित मिति : 12 March, 2017 3:08 pm

चितवन । पखेरामा बनेको सानो झुप्रोको माइती घर । अगेना छेउमा मैलो चोलो र फरियामा डङ्रङ्ग सुतेकी छिन् ताराकुमारी चेपाङ । झिङ्गा भन्किरहेको छ । झिङ्गा आउँछ भनेर हातले नाकमुखमा छोपेकी छिन् ।

दुई बच्चा अर्ध निद्रामा रहेकी उनको दुईतिर बसेर स्तन चुस्दैछन् । सानो बच्चालाई ताराकुमारीले हातमा च्यापेकी छिन् भने अर्को बच्चा त्यहीँ निदाएको छ । सरसफाइको अभावमा रहेको बच्चाको कपडा मैला छन्, अनुहारमा समेत फोहर छ ।

‘कति वर्षको हुनु भो दिदी ?’ कुरा सुरु गरें । ‘खै के‘था ?’ ताराकुमारीले छोटो उत्तर दिइन् । ‘क्या रे बाउ, मो कति भयो ?’ बुबा पट्टि फर्किएर सोधिन् ।

यही फागुन २३ गते सोमबार ताराकुमारीलाई यस्तै अवस्थामा भेटिइन् । यो अवस्थाले नै उनको जीवनको व्यथा कहानी बोलिरहेको छ । तस्बिर खिचेपछि उनको अर्धनिद्रा भङ्ग भयो ।

‘कति वर्षको हुनु भो दिदी ?’ कुरा सुरु गरें । ‘खै के‘था ?’ ताराकुमारीले छोटो उत्तर दिइन् । ‘क्या रे बाउ, मो कति भयो ?’ बुबा पट्टि फर्किएर सोधिन् । ‘खै ३०–३५ भो की ?,’ बाहिर भिरालो बारीमा टुक्रुक्क बसेरै बुबाले भने ।

उनको भनाइमा परिवार पाल्ने एक पाटो जमिन छ । यसपालि उब्जनी भएको अन्न सबै सकिइसक्यो ।

‘यो पालिको मकै पोलेर खान पनि पुगेन,’ ताराकुमारीले भनिन्, – एक पाटाको के गर्ने सर, भुराले पोलेर खाइहाल्छ, कति पुगोस् त १ अहिले गाउँमा पर्म गर्यो, देउ न होई भन्यो, एक–एक पाथी माग्यो, खायो ।’
‘छोराले कमाउँलान् नि त ?’ भन्ने प्रश्नमा तिनले भनिन् – ‘छोराले के कमाउँछ ? त्यही आफ्नो ज्यान पाल्छ । नुन तेल ल्याउँछ, त्यही हो ।’

परिवारमा कसैले पढेका छैनन् । साना बच्चा पनि पढ्ने खालका देखिंदैनन् । पढाइप्रति चेतना नै छैन । ‘कोहीले नि परेन सर, के गर्ने अब ?’ – तिनले भनिन् ।

उनको घरमा अहिले खानका लागि अन्न छैन । खडेरीका बेला चेपाङ गाउँ सुख्खा छ । ‘एक एक ठाउँमा साहु हुन्छ नि सर ! भोलि हामी काम गरेर तिर्छौं भनेर एक एक पाथी दुई दुई पाथी मागेर खाने,’ ताराकुमारीले भेद खोलिन् ।

मागेर पनि नपाइने अवस्थामा चेपाङहरु जङ्गलमा गिठा र भ्याकुर खोजेर भोक टार्छन् । यति कुरा गरिरहँदा सहयोगीहरुले दिएको कपडा छान्दै बच्चाहरु झगडा गरिरहेका थिए ।

उनको भनाइमा परिवार पाल्ने एक पाटो जमिन छ । यसपालि उब्जनी भएको अन्न सबै सकिइसक्यो ।

ताराकुमारीका ३ छोरा र ३ छोरी छन् । चार बच्चा चाहिँ पछिल्लो पटकका बर्सेनिका हुन् । यति कुरो चाहिं उनलाई थाहा छ । वर्ष कसैको थाहा छैन । न त आफ्नो वर्ष नै थाहा छ न त बिहे गरेको मिति नै । दुईजना छोराअलि ठूला छन् । जेठाको नाम राजु र माइलाको नाम माइलो नै । उनीहरु चितवनको रत्ननगरस्थित पिठुवामा मजदुरी गर्न गएको ताराकुमारीले बताइन् ।

अन्य ४ वटा बर्सेनिका भने उनीसँगै छन् । ‘कान्छाको नाम कान्छै हो, जेठी सञ्चमायाँ, यो सानी कान्छी, अनि यो कान्छी,’ तिनले औंल्याउँदै भनिन् । छोरा छोरी कति वर्षका भए भन्ने उनलाई हेक्का छैन । श्रीमान्को नाम रामप्रसाद चेपाङ ।
सरकारसँग के माग्नुहुन्छ भन्ने प्रश्नमा तिनले भनिन् – ‘खै हामी पहारको मान्छे केही जान्दैन सुन्दैन ।’ एकछिन छिमेकी लरीमायाँसँग चेपाङ भाषामै खासखुस गरिन् र फेरि भनिन् – ‘सरकारले जस्ता दिया त हुन्थ्यो भन्ने लाग्छ आफ्नो मनले ।’

बिहे कहिले भा’को नि ?
खै त्यै बा–आमाले जान्दा होला ।
तपाईलाई थाहा छैन ?
अँ हँ, ओ बा कति सालमा व्ये गर्या रे मलाई ?
बूढा खै त ?
बुरा खै तलतिर गा’छ ।
के गर्छन् त ?
पर्म गर्छ, खान्छ, हिँड्छ ।
काम गर्दैनन् ?
एक पाटोमा के काम गर्नु ?
अरु काम ?
खाना नपुग्या बेला कुल्ली गर्छ।

संक्षिप्त कुराकानीमा तिउनले भनिन् । चितवनको विकट पहाडी गाउँ सिद्धि गाविसको वडा नम्बर ९ छेरवाङमा उनको घर छ । चितवनको सदरमुकाम भरतपुरबाट पूर्व पर्छ विकट गाउँ सिद्धि । चेपाङ्गको बसोबास बढी छ । भरतपुरबाट झण्डै ३० किलोमिटरको सवारी यात्रामा शक्तिखोरको दोगरा पुगिन्छ । त्यहाँबाट करिव ३ घण्टाको उकालो चढेर उनको घर पुगिन्छ ।

घर नजिकै माइती भएकाले सोमबार विहानै ताराकुमारी लालाबाला च्यापेर माइत पुगिन् । त्यही बेला उनीसँग भेट भएको हो ।

जन्मिहाल्यो, फाल्नु भएन

बच्चाबच्ची किन यति धेरै जन्माएको त भन्ने प्रश्नमा एकछिन मज्जैले हाँसिन् तिनी । ‘जन्मी हाल्यो के गर्नु त अब, फाल्नु भै’न,’ तिनको सहज जवाफ थियो ।

अब भने बच्चा नजन्माउने उनको अठोट छ । छ बच्चा पाएपछि उनमा बल्ल चेत खुलेको छ । छ जना बच्चा जन्माएपछि परिवार नियोजनको ख्याल आएको ताराकुमारीले बताइन् । ‘अस्तिदेखि क्याप्सुल लगाको,’ उनले भनिन् – ‘अब बन्द भो ।’
शक्तिखोरका दलबहादुर चेपाङ अधिकाँश चेपाङको पीडा यस्तै भएको बताउँछन् । पटक पटक अन्न कपडा दिएर भन्दा सिप र शिक्षा दिनु आवश्यक उनी ठान्छन् ।

यसतर्फ न राज्यले ध्यान दिएको छ न गैरसरकारी संस्थालाई नै चासो छ । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवास संयोजक समिर खत्री उनीहरुको अवस्था देखेपछि अब परिवर्तनका लागि अभियान नै चलाउने सोच बनाएको अनुभव सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस