दक्षिण सुडानको इस्टर्न गेट गाउँ, जहाँ धेरै गाई दिनेलाई छोरी दिइन्छ « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

दक्षिण सुडानको इस्टर्न गेट गाउँ, जहाँ धेरै गाई दिनेलाई छोरी दिइन्छ


प्रशासन संवाददाता

२१ फाल्गुन २०७३, शनिबार


 

सुडान। गणतान्त्रिक दक्षिण सुडान (आरएसएस) इस्टर्न गेट गाउँका जोन बिदालको परिवारले भोकभोकै धेरै रात बिताएको छ । बिदालको परिवारले मात्र होइन सो गाउँका झन्डै चार सय परिवार अशिक्षा, भोकमरी र कुपोषणमा बाँच्न बाध्य छ ।

इस्टर्न गेट राजधानी जुबा नजिकको गाउँ हो । गाउँमा पिउने पानीको समस्या छ । नजिकै स्वास्थ चौकी र विद्यालय पनि छैनन् । खेतीपाती गर्न बीउ छैन । खेती गरिहाल्यो भने पनि अरूले लुटिदिन्छन् ।

जोन बिदालको विवाह सन् २००५ मा भएको थियो । विवाह हुँदा उनको उमेर २० र उनकी जहान सुजना बिदाल १५ वर्षीया थिइन् । सुजनाले आफू १६ वर्ष हुँदै मनोबल बिदाललाई जन्माइन् । उनको छोरा मनोबल अहिले कुपोषण पीडित छ भने काखमा अर्का नौ महिनाको युसिक बिदाल पनि छ ।

इस्टर्न गेटमा मात्र होइन दक्षिण सुडानमा बालविवाह गर्नेलाई कुनै कानुन लाग्दैन । जस्ले केटी पक्षलाई वा केटीका परिवारलाई धेरै गाई दिन्छन् उसैसँग उस्को विवाह गरिदिने चलन छ ।

जुबा सुडानको एक प्रान्त पनि हो । त्यसो त लेक्स प्रान्तमा पर्ने रुम्बेकका स्थानीय पिटर याक विलले पनि विवाह गर्न खोजेका छन् । उनलाई केटी पक्षका मानिसले न्यूनतम एक सय गाईको माग गरेका छन् । झन्डै एक सय गाईको नेपाली मूल्य रु १० लाख पर्छ । गाई दिन नसक्नेले लगभग गाईको सङ्ख्याका आधारमा केटी पक्षलाई सुडनिज पाउन्ड उपलब्ध गराउनुपर्छ । यद्यपि केटी भगाएर लगेमा केटाको ज्यान लिनेसम्मको कार्य गरिन्छ ।

संसारका धेरै कालो छाला भएका मानिस बसोबास गर्ने देश साउथ सुडान हो । यहाँ सबैभन्दा धेरै कालो मानिसलाई सुन्दर भनिन्छ । साउथ सुडानमा धेरै महिलासँग विवाह गर्ने मानिसलाई समाजको प्रतिष्ठित व्यक्ति मानिन्छ । यहाँ परिवार नियोजन गर्ने चलन छैन । धेरै सन्तान जन्माउने र जन्मिएका सन्तानलाई बदला लिन सिकाउने चलन छ ।

राजधानी नजिक गाउँका सडक कच्ची छन् । जुबा आसपासका गाउँसम्म आवतजावत गर्ने सार्वजनिक यातायात छैन । पिउने पानीको विकराल समस्या छ । इस्टर्न गाउँका जनतालाई भने युएन मिसनमा खटिएका नेपाली सेनाले पानी उपलब्ध गराउने गर्छ ।

इस्टर्न नजिकका अन्य ग्रामीण जनता भने नाइल नदीको पानी पिउँछन् । नजिकका नकिटु तथा अन्य गाउँका मानिस नाइल नदीसम्म पानी लिन जान्छन् । गाउँबाट पानी ल्याउन करिब दुई घन्टा लाग्छ । बाबुआमाले छोराछोरीलाई पढ्न पठाउनुको सट्टा खोलामा पानी लिन पठाउने यहाँको चलन हो । यहाँका केटा केटी मागेर खाने गर्छन् । उनीहरुलाई बाबुआमा खोई भनी सोध्यो भने युद्धमा मरे भन्ने जवाफ पाइन्छ ।

‘मुख्यगरी इस्टर्न गाउँ डिन्का र निउर बीचको जातीय व्दन्दको सिकारबाट अछुतो रहन सकेन । यहाँको गरिबी, अशिक्षा र भोकमरी कहालिलाग्दो छ । इस्टर्न गाउँमा जनप्रतिनिधमूलक कुनै निकाय र प्रहरी पोष्ट छैन’ स्थानीयवासी ग्रावोल लादोले बताए ।

साउथ सुडानमा रहेका झन्डै ६० जातजातिबीच जातीय व्दन्द छ । मुख्यगरी वर्तमान राष्ट्रपति सालबाके र अपदस्त उपराष्ट्रपति रिग्माचारका लडाकु दस्ताबीच कटाक्ष जातीय युद्धका कारण आजको इस्टर्न गेटको यो अवस्था सिर्जना भएको हो ।

राष्ट्रपति सालबाकेको सेना साउथ सुडनिज पिपुल्स लिवरेसन आर्मी (एसपिएलए) र रिग्माचारको सेना सुडनिज पिपुल लिवरेसन आर्मी इन अपोजिसन (एसपिएलए–आइओ) बीचको लडाइँमा हालसम्म एक लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १० लाखभन्दा बढी अशक्त र अपाङ्ग भई बाँच्न बाध्य छन् ।

जुलाई–८, २०११ मा संयुक्त राष्ट्रसङ्घले गणतान्त्रिक दक्षिण सुडान ९आरएसएस०लाई एक छुट्टै राष्ट्रको मान्यता दिएको थियो । राष्ट्रसङ्घले जुबा, इस्टर्न इक्वेटोरिया, ओयस्टर्न इक्वेटोरिया, लेक्स, जोङ्ल्याइ, उवा, आवेल, ¥याप, युनिटी र मालाकाल १० प्रदेशलाई मान्यता दिएको भए पनि हालका राष्ट्रपति सालबाकेको सरकारले थप २२ प्रदेश गरी कुल ३२ प्रदेशमा मुलुक विभाजन गरिसकेका छन् । यद्यपि राष्ट्रसङ्घले भने त्यसलाई मान्यता प्रदान गरेको छैन ।

दक्षिण सुडान अथाह प्राकृतिक स्रोतसाधनले धनी भए पनि इस्टर्न गाउँको अवस्था दयनीय छ । समग्र सुडानको आर्थिक वृद्धिदर १ दशमलब शून्य ९ प्रतिशत र साक्षरता दर २० प्रतिशत एवम् ८० प्रतिशत गरिबी छ ।

प्रतिक्रिया दिनुहोस