भजन र भोजन « प्रशासन

भजन र भोजन


प्रकाशित मिति : ११ फाल्गुन २०७३, बुधबार ०६:३८

मानव जीवन आफैंमा गौरव बोकेको विधाताको सिर्जनामा सर्वोत्कृष्ट एवं सर्वोपमेय सिर्जना हो । यसले आफूलाई चिन्न सकेर तदनुकूल गमन गरेमा असाध्यकर्म पनि सुगमतापूर्वक साध्य बनाउन सक्दछ । मानवभित्र बहुउपयोगी अमूल्य उपकरणहरु जडित छन् । मानवले आफूभित्रका सवै संयन्त्रहरु परिचालन गरेर प्रर्याप्त लाभ उठाउन सकेको पाइदैन । शरीर मुख्यतयाः दुई वटा भनिएको छ । १. स्थूल शरीर, २. सूक्ष्म शरीर । स्थूल शरीर विना सूक्ष्म शरीरले काम गर्न सक्दैन भने सूक्ष्म शरीर बिना स्थूल शरीर क्रियाशील हुन सक्दैन । बन्चरो र बन्चरोको विंड छुट्टाछुट्टै हुन्छ । विड विना बन्चरो क्रियाशील हुन सक्दैन भने बन्चरो विना विडको प्रयोजन नभए जस्तै हाम्रो चेतन शरीर विना स्थूल शरीर निर्जिव र जड बन्छ र स्थूल शरीर विना चेतन शरीर कुनै काम गर्न समर्थ हुँदैन । चेतन शरीरलाई बौद्धिक शरीर भनिन्छ भने बाहिर देखिने पञ्चमहाभूतद्वारा निर्मित भौतिक शरीर स्वयं जड छ । गाडी चालक विना निष्क्रिय भएझै चेतन शरीरको सञ्चालनमा भौतिक शरीर सञ्चालन हुने गर्दछ । भौतिक शरीरका उपभोग्य सामग्री, आहार, विचार, खानपिन र रहनसहन छुट्टाछुट्टै हुन्छन् भने चेतन शरीरको भेषभूषा, श्रृंगार, आहार, विचार र क्रियाहरु छुट्टै छन् । एक अर्का सँग अन्योन्याश्रित सम्बन्ध रहेको यी दुवै शरीरको क्रियामा निकै फरक देखिन्छ । फरक–फरक आकार फरक–फरक श्रृंगार, फरक–फरक पहिरन भएर पनि कार्यगत एकता छ । चेतना शरीरको आज्ञापालन गर्नु र उसले उत्पादन गरेको भिजनलाई कार्यान्वयन गर्नु स्थूल शरीर अर्थात् भौतिक शरीरको मूलभुत कर्तव्य हुन पुग्दछ ।

गाडी चालक विना निष्क्रिय भएझै चेतन शरीरको सञ्चालनमा भौतिक शरीर सञ्चालन हुने गर्दछ । भौतिक शरीरका उपभोग्य सामग्री, आहार, विचार, खानपिन र रहनसहन छुट्टाछुट्टै हुन्छन् भने चेतन शरीरको भेषभूषा, श्रृंगार, आहार, विचार र क्रियाहरु छुट्टै छन् ।

प्रसंग छ भजन र भोजनको । भोजन भनेको के हो ? व्याख्या विश्लेषण गर्नु न पर्ला । भोजन नगरेर बाँच्ने प्राणीहरु प्रायः छैनन् यस संसारमा । खाद्यपदार्थ भिन्नभिन्न भए पनि भोजन बिना कुनै पनि प्राणी जिवित रहन सक्दैन । उर्जा विना गाडी नचले जस्तै भोजन विना यो भौतिक शरीर जिवित रहन सक्दैन । काम त छोडौं बाच्नका लागि पनि यो शरीरलाई भोजनको आवश्यकता पर्ने गर्दछ । जलमल विना खेती सुके जस्तै भोजन बिना हाम्रो शरीर निष्क्रिय बन्ने मात्रै होइन बाँच्न पनि सक्दैन । निर्माणकर्ताले उपलब्ध गराएको आहार जलमा–थलमा उदभिजा र जरायुजा सबैले आ–आफ्नो तरिकाले ग्रहण गर्ने गर्दछन । निर्माताले जलमा जन्मने प्राणीको लागी जलभित्रै थलमा जन्मने प्राणीको लागि थलभित्रै र अन्तरिक्षमा जन्मनेको लागि अन्तरिक्षमै भोजन उपलब्ध हुने व्यवस्था गरेको हो । भोजन गर्न न कोही विर्सन्छ न अल्छी गर्छ न कुनै बहाना गरेर भोजन छोडन सक्छ । तिर्यक्योनी मध्येको कुकुर पनि आफु बाँच्न चाहन्छ र येनकेन भोजन गर्दछ । मानौं संसारमा सर्वप्राणी भोजनका निम्ति रातौंदिन खटेडटेका हुन्छन् । हामीलाई भोजन जति आवश्यक छ भजन पनि उतिनै आवश्यक छ । भोजनका निम्ति जति हामी भौंतारिएका छौं । भजनका निम्ति त्यति प्राथमिकताका साथ क्रियाशील हुनु आवश्यक छ । मानव स्वस्थ, निष्कलंक, र सन्तुष्ट रहनका लागि भोजन विना भौतिक शरीर निष्क्रिय हुुन्छ भने भजन विना चेतनशरीर निष्क्रियय बन्न पुग्दछ । भौतिक शरीर निष्क्रिय भयो भने हातगोडा आदि सर्वागं निष्क्रिय हुन्छन् । चेतन शरीरले खुराक नपाउँदा ज्ञानेन्द्रीय मध्येको प्रमुख मानिएको मन बुद्घिले गलतमार्ग अनुसरण गर्दछ । जब बौद्धिक शरीरले सही निर्देशन गर्दैन र दशेन्द्रियहरु माथि नियन्त्रण नगरी खुला छोड्छ अनि दशेन्द्रियहरु स्वच्छन्तापूर्वक यत्रतत्र भौतारिन्छन् र मनमोज तिर जान्छन् । परिणामतः मानव दुव्र्यसनी, कुकर्म, चोरचार, फटाहा, लुटाहा, चरित्रहीन काममा आपराधी हुने संभावना वढी हुन्छ । जव निर्देशनकर्ता गलत निर्देशन गर्छ वा मौन भएर बस्छ वा गलत बाटामा जान निर्देशन गर्छ तत्पश्चात मानवको पतन सुरुवात हुन्छ । मानव स्वस्थ रहनका लागि भौतिक शरीर बलियो भएर मात्र पुग्दैन बौद्धिक शरीर पनि बलियो हुनु पर्दछ । उदाहरणका लागि गाडी मात्रै बलियो भएर पुग्दैन गाडीमा इन्धन राखेर मात्र पुग्दैन, गाडी चालक पनि बलियो हुनु पर्छ । चालकले पनि उचित आहार प्राप्त गर्नु पर्दछ । यदि चालक भोको रहयो भने उसले चलाएको बाहन राम्रो चल्न सक्दैन । जहाँ जतिखेर पनि दुुर्घटना हुनसक्छ । त्यस्तै हाम्रो चेतन शरीरले उचित खुराक प्राप्त गरेको खण्डमा चेतन शरीरद्वारा सञ्चालित बौद्धिक शरीरलाई पनि तन्दुरुस्त राख्दछ र सो को लागि उचित व्यवहार गर्न अग्रसर गराउँछ । ऊ स्वयम् शक्तिहीन भयो भने “शक्तिहीनो मनुष्य न किञ्चित कर” भनेझै उसले भौतिक शरीरको भलाई गर्न सक्दैन । जव ऊ शक्तिहीन अवस्थामा पुग्छ अनि भौतिक शरीरका उसले चलाउने गरेको संयन्त्रहरु ठीक किसिमले चल्न सक्दैनन् वा विपरित मार्गमा परिचालित हुने गर्दछन् । यसो भयो भने भौतिक शरीरको रोगको कारण बन्न सक्दछ । हाम्रो शरीरमा रातौंदिन सञ्चार भइरहेको रक्त जुन गतिमा चल्नुपर्ने हो सो नभई यो अधिक सञ्चार भयो भने उसलाई अधिक रक्तचाप वा कम भयो भने न्यून सञ्चार भनिन्छ । यो रोग हो । यसैगरि सम्पूर्ण संयन्त्रहरुको गति विग्रिन्छ र अनेक रोगको रुपमा देखा पर्छ । यसो नहुनका निमित्त चेतनशरीर स्वच्छ र स्वस्थ हुनु प¥यो स्वच्छ र स्वस्थ हुन उसलाई भोजनको सट्टा भजनको आवश्यकता पर्याे । जुनकुरा भजनबाट हामीले पुर्ति गरिदिएनौं भने भोको हुन पुग्छ । भजन भनेको संगीतकोे तालमा नाच्नु, गाउनु, र संगीत बजाउनु मात्र होइन, हृदयलाई स्वस्थ र स्वच्छ राख्ने निर्देशन पाउनु हो । यसका निम्ति थोरै मात्र भएपनि हृदयतः चिन्तन मनन एवं दौडिरहेको मनको गतिलाई रोकेर खुराकको रुपमा प्राप्त प्रवचन ,आत्मसंयम, योग, प्राणायाम, कथापुराण, श्रवण, भगवदभक्ति, तनमन लगाएर ग्रहण गराउनु हो । जव हृदय एकाग्रतापूर्वक मनन चिन्तन गर्दछ अनि कर्तव्बोधकासाथै कर्तव्यपारायण पनि बन्न पुग्दछ । जव ऊ कर्तव्यपारायण बन्छ अनि ऊ आहार योग्यकर्म र उचित व्यवहार गर्ने गर्दछ यसैको नाम सदाचार हो ।

मानव स्वस्थ, निष्कलंक, र सन्तुष्ट रहनका लागि भोजन विना भौतिक शरीर निष्क्रिय हुन्छ भने भजन विना चेतनशरीर निष्क्रिय बन्न पुग्दछ ।

प्रायः सवै रोगहरु आहार, विचार र व्यवहारबाटै लाग्ने गर्दछन् । आहार, विचार र व्यवहार ठीक हुनका लागि बौद्धिक अर्थात् चेतन शरीर ठीक र दुरुस्त हुनुपर्दछ । चेतन शरीर ठीक दुरुस्त रहनका लागि उसले सन्तुलित आहार पाउनु पर्ने हुन्छ उसको आहार भौतिक शरीरले खाना ग्रहण गरेजस्तै भजन हो । जसको अभावमा उ रुमल्लिएको छ अर्थात बाटो विर्सेको छ । गाडी चालक बाटो विर्से पछि यात्रीहरुमाथी संकट आउनु स्वभाविक मानिन्छ । त्यस निम्ति हामीले प्राप्त गरेको २४ घण्टाको समय मध्ये थोरै अंश ईश्वरीय चिन्तन, मनन र भजनमा लगानी गर्नु आवश्यक पर्दछ । यो जीवविज्ञान सम्मत बास्तविक्ता हो । राम्रो सोचपाउन राम्रो चिन्तन हुनु पर्दछ । राम्रो चिन्तनले मात्र राम्रोचित्त हुने र राम्रो विचार अर्थात् राम्रो चित्त नै राम्रो हुने जीवनको आधार हो । राम्रो सोच हामीले तव मात्र प्राप्त गर्छौ जव हामी अन्य कामबाट अवकाश लिएर केही समय ईश्वर चिन्तनमा लगानी गर्दछौं । ईश्वर चिन्तनमा गरिने लगानी समयको नाम भजन हो जुन भजनको अभावमा हिजो आजको हाम्रो बजार वरवाद भएको छ । अस्तु ।

प्रतिक्रिया दिनुहोस