बागलुङ नपाको बजेट साढे पन्ध्र करोड « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बागलुङ नपाको बजेट साढे पन्ध्र करोड


५ माघ २०७३, बुधबार


बागलुङ । बागलुङ नगरपालिकाले आगामी आवको लागि रु. १५ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २२ औँ नगर परिषद्ले आव २०७४-०७५ को आयव्यय मंगलबार सार्वजनिक गरेको हो ।

परिषद्को निर्णयअनुसार चालुतर्फ रु. दुई करोड ५० लाख र पुँजीगततर्फ रु. १३ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा पूर्वाधार निर्माण, सरसफाइ र कृषि तथा पर्यटन विकासका लागि प्राथमिकता दिइएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले बताए ।

भूकम्प प्रतिरोधी घर निर्माणको अभियानलाई कडाइका साथ लागू गर्ने, सडक चोकमा रहेका अव्यवस्थित विद्युत्, टेलिफोन, केबुललाइन र तार तथा पोललाई व्यवस्थित गरी बजारलाई सुन्दर र सुरक्षित बनाउने निर्णय परिषद्ले गरेको छ ।

बागलुङ नगरलाई कालो प्लास्टिक मुक्त घोषणा गरेको तीन वर्षपछि सबै प्रकारका प्लास्टिक निषेध गर्नका लागि उद्योग वाणिज्य सङ्घ, होटल सङ्घलगायतका संस्थाको सहकार्यमा प्रभावकारी काम थाल्ने समेत निर्णय परिषद्ले गरेको छ ।

नगरपालिकाले नगरको वस्तुस्थिति झल्कने गरी ‘जिआइएस’ (भौगोलिक) नक्सा तयार गर्ने, नगर क्षेत्रभित्र रहेका सडकको वस्तुस्थिति झल्कने सडक गुरुयोजना बनाउने र सबैलाई ‘मेट्रिक’ प्रणालीमा आधारित घर नम्बर राखेर चालु आवमै काम थाल्ने निर्णय पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस