परीक्षापयोगी विशेष श्रृंखला २ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

परीक्षापयोगी विशेष श्रृंखला २


प्रशासन विशेष ब्युरो

२० पुस २०७३, बुधबार


विषयगत छोटो प्रश्नोत्तर

प्रश्न नं १: सार्वजनिक सेवा प्रवाहमा रहेका मूलभूत समस्याहरु के के हुन् ? चर्चा गर्नुहोस् ।
सरकारको तर्फवाट नागरिक हितका लागि प्रवाह गरिने सेवा नै सार्वजनिक सेवा हो । सार्वजनिक सेवा प्रवाह गर्ने सेवाप्रदायक निकायहरु सरकारी वा गैरसरकारी गरी व्यापक वन्दै गएको भएतापनि सेवाको विश्वसनियता र लोकप्रियता भने वढ्न सकेको पाइँदैन । सार्वजनिक सेवा वितरणमा रहेका मूलभूत समस्याहरुलाई मिहिन ढंगले विश्लेषण गर्दा केही विषय जिम्मेवार रहेको हामी पाउँछौँ ।

सेवा प्रवाहलाई यथोचितरुपले र स्वचालित वनाउनका लागि राज्यसंचालनका मूल दुई कर्ताहरु राजनीति र प्रशासन ठीक ढंगले संचालन हुनु जरुरी छ । आआफ्नो भूमिकामा स्पष्ट हुँदै एकअर्काको परिपूरक एवं सवलीकरणकर्ताको भूमिका निभाउनुपर्दछ । तर राजनीतिज्ञमा देखिएको आफ्नो व्यक्तिगत, दलीय वा निर्वाचन क्षेत्रीय स्वार्थ पूरा गर्न तल्लिन रहने प्रवृत्ति र कर्मचारीतन्त्रमा देखिएको परिवर्तनउपरको इनर्सियाका कारण सेवा प्रवाहमा नवीनता र चुस्तता आउन सकेको छैन । त्यस्तै सेवाप्रदायक र नागरिकवीचको सम्वन्ध कमजोर रहेको, अभिलेख व्यवस्थापन कमजोर रहेको, सूचना तथा सञ्चार प्रविधिको प्रयोग कमजोर हुनु, नियम कानुनको तजविजी व्याख्या हुनु, दण्डहिनता हावी हुनु, समन्वय कमजोर हुनु जस्ता समस्याहरुका कारण नागरिकहरुले सहजरुपमा सेवा पाउनुभन्दा पनि सास्ती खेप्नुपरेको छ । उल्लेखित समस्याको निकास विना सुशासनको परिकल्पना अधुरो नै रहने देखिन्छ । नागरिकले पाउनुपर्ने सेवालाई केन्द्रमा राखेर राज्यव्यवस्थापनमा यथोचित परिवर्तन ल्याउनुको विकल्प भने देखिदैन । सेवाप्रदायक र नागरिकवीचको प्रत्यक्ष उत्तरदायित्व सृजना गर्नु र सहभागितामूलक सेवाप्रवाह गर्न सके धेरै समस्या हल भएर जानेछन् ।

प्रश्न नं २: नेपालले हाल भोग्नुपरेको बढ्दो व्यापार घाटा कम गर्ने उपायहरु सुझाउनुहोस् ।
बढ्दो व्यापार घाटा नेपालको अर्थतन्त्रका लागि ठूलो चुनौति हो किनकि यसले वाह्य मुद्रा प्रवाह र वचतमा नकरात्मक असर गर्दछ । गत आर्थिक वर्षको आँकडा हेर्दा पनि नेपालको निर्यातभन्दा आयात ११ गुना वढी भएवाट व्यापार असन्तुलनको स्थिति छ र यो अवस्था झट्टा सुल्झिने संभावना पनि छैन । तथापि केही सजगता र केही उपायहरु अवलम्वन गरेमा थप जटिल वन्नवाट जोगिन सक्ने देखिन्छ ।

सर्वप्रथमत हाल निकासीका लागि संभाव्य र निकासी भैरहेका सेवा वा वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गरिनुपरर्दछ । यसका लागि कुनै नीति, कानुन, रणनीति, संरचनामा यथोचित सुधार गर्नुपर्दछ तथा वातावरण वाधक भए सवै पक्षले यसमा विशेष ध्यान दिनुपर्दछ । कम आयतन र वढी मूल्य भएका वस्तुको पहिचान र प्रवर्द्धन गर्नसकेमा नेपालको ढुवानीसम्वन्धी लागत कम गर्न सकिन्छ । त्यस्तै उत्पादन र रोजगारीमा भन्दा पनि उपभोगमा आधारित र रेमिटेन्सले वढाएको आयात कम गर्न विलासिताका सामान आयातलाई निरुत्साहित गर्ने तथा देशमा भित्रिएको रकमलाई उद्योगधन्दा वा व्यवसायमा लगाउने वातावरण नगरेसम्म आयात घट्ने वा निर्यात वढ्ने देखिदैन । उदार अर्थतन्त्रको समय भएकोले विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने र गुणात्मक तथा स्तरीय उत्पादन भएमा मात्र नेपाली उत्पादनले विदेशमा वजार पाउने र टिक्न सक्ने हुँदा लेवलिङ, व्रान्डिङ र फिनिसिङमा विशेष ध्यान दिनुपर्दछ । कच्चा पदार्थ हैन प्रोसेस गरेका वस्तु वेच्नुपर्दछ । व्यापार विविधिकरण, व्यापार सहजीकरण, व्यापारलाई अन्य व्यवसायसँग आवद्ध गर्ने र नेपालका संभावनामा ज्यादा ध्यान दिने हो भने भविष्यमा नेपाल धेरै चिजमा आत्मनिर्भर हुने र व्यापार घाटा कम भएर जाने देखिन्छ ।

 

वस्तुगत प्रश्नोत्तर

१. कुन केन्द्रीय निकायमा सार्वजनिक निजी साझेदारी केन्द्र स्थापना गरिएको छ ?

सही उत्तर : राष्ट्रिय योजना आयोगको सचिवालय

२. कालीगण्डकीमा र्याफ्टिङ गर्नेहरुले यसमा आउने ठूलो छाललाई के नाम दिएका छन् ?

सही उत्तर : विग व्रदर

३. “खोल्साको सुन” पनि भनेर चिनिने नगदे बाली कुन हो ?

सही उत्तर : अँलैची

४. जलवायु परिवर्तनसम्वन्धी पेरिस सम्झौता (सन् २०१५ डिसेम्वर १२) लाई नेपालले कहिले अनुमोदन गरेको छ ?

सही उत्तर : सन् २०१६ अक्टोवर ४

५. यन्त्रमानव वा रोबोटको प्रयोग सम्वन्धी बौद्धिकतालाई के नाम दिइएको छ ?

सही उत्तर : आर्टिफिसियल इन्टेलिजेन्स

प्रस्तोता : नेत्र सुवेदी “प्रयास”
उपसचिव, नेपाल सरकार

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस