हामीले सेवा दिन्छौ भन्दा भन्दै पनि प्रविधिले साथ नदिइरहेको अवस्था छ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हामीले सेवा दिन्छौ भन्दा भन्दै पनि प्रविधिले साथ नदिइरहेको अवस्था छ


१२ पुस २०७३, मंगलबार


सबैभन्दा बढी जनगुनासो रहने कार्यालयमध्ये भित्र पर्दछ यातायात व्यवस्था कार्यालय । समयमै काम नगरी दिनेदेखि लिएर पैसा नखुवाई वरको फाइल पर पनि नसार्ने आरोपबाट मुक्त हुन नसकेको यातायात कार्यालयको अवस्थाबारे बुझ्न हामी राजधानीबाट करीब ८ सय किलोमिटरको दूरीमा अवस्थित यातायात व्यवस्था कार्यालय धनगढी, कैलाली पुगेका थियौं । र, त्याहाँको अवस्थाबारे कार्यालय प्रमुख कृष्णप्रसाद भूसालसंग सेवाप्रवाहका विषयमा कुराकानी गरेका छौं । प्रश्तुत छ छोटो कुराकानी ।

तपाई नेतृत्वको यातायात व्यवस्था कार्यालय धनगढीले के गर्दैछ अचेल ?
यातायात व्यवस्थापन भनेको नेपालको हकमा चुनौतिपूर्ण काम छ । हाम्रो कार्यालयले दुई/तीन वटा काम गर्छ । एउटा लाइसेन्स वितरणदेखि लिएर म्यानेजमेन्ट गर्छ । अर्को सवारी सम्बन्धि सवारी दर्ता गर्ने, नविकरण गर्ने, नामसारी गर्ने, जाँचपास, रुट परमिट जारी सरुवा सहमति दिने यस्ता कामहरु गर्छ । जनतालाई सरल, सहज र शिघ्र सेवा दिने हाम्रो प्रयास जारी छ ।

जनशक्ति व्यवस्थापन कसरी गर्नु भएको छ नी ?
जनशक्ति अहिले हेर्दा हाम्रोमा मिश्रीत खालको छ । नयाँ प्रविधि बुझेका केही साथिहरु पनि हुनुहुन्छ । हाम्रो यातायात व्यवस्थापनलाई आइटीसँग जोड्न खोजिएको छ । केही साथिहरु परम्परागत रुपमा चल्दै आएको प्रशासनसँग सम्बन्धित हुनुहुन्छ । उहाँहरु टेक्नोलोजीसँग अभ्यस्त भइनसकेको अवस्था छ भने कति साथीहरु त कम्प्युटर नै चलाउन नसक्ने पनि छन् । कोही साथिहरु दक्ष पनि छन् । हामी हाम्रो जनशक्तिको क्षमता अभिवृद्धिमा पनि ध्यान दिईरहेका छौं ।

कर्मचारी प्रविधीमैत्री हुन नसकिरहेको अवस्थामा कसरी जनताको काम छिटो छरितो हुन्छ त ?
हाम्रो यहाँ दरबन्दी फुलफिल नै छ । सबैले सबै कुरा जानिदिए त राम्रै हो । तर, एक अर्काको परिपुरक भएर काम गर्ने अवस्था भएको हुनाले हामीलाई सेवा नै दिन त त्यति गाह्रो भएको छैन । हामीलाई जनशक्ति भन्दा पनि टेक्नोलोजीले त्यति साथ दिइरहेको छैन ।

हाम्रोमा टेक्नोलोजीको दुई ओटा सिस्टम छ । एउटालाई डिएलएरआरएस (ड्राइभिङ लाइसेन्स रजिष्ट्रेशन सिस्टम) भनिन्छ भने अर्को भिआरएस (भेहिकलकल रजिष्ट्रेशन सिस्टम) भन्ने हुन्छ । यी दुईटा सिस्टम कहिले काँही बरावरी काम नगरीदिँदा र सर्भर ढीलो हुँदाखेरी समस्या थपिने गर्छ । जनताको काम धेरै परिराख्ने तर हाम्रो टेक्नोलोजीले चाहीँ नभ्याउने अवस्था भइरहेकोले दैनिक सेवा प्रवाहमा अफ्ठेरो भइरहेको छ ।

सर्भरको वा प्रविधिको समस्या हुनुको कारण चाहीँ के हो नी ?
सर्भरको क्षमताको कुरा पनि होला । यो केन्द्रबाट नियन्त्रित हुन्छ । चौध वटै अञ्चलका कार्यालयहरु र कतिपय ठुला सहरमा त बढी कार्यालय पनि छन् । कतै लाइसेन्स र सवारीका छुटाछुट्टै कार्यालयहरु छन् । एकै ठाउँबाट प्रवाह हुने भएकाले सरवरको क्यापासिटिले नधानेको हो की भन्ने लाग्छ ।

यत्रो धेरै काम हुने कार्यालयमा पनि यस्तो अवस्था ? कसरी चुस्त दुरुस्त सेवा दिन सकिन्छ त यसरी ?
थुप्रै समस्या झेलिरहेका छौ । हाम्रो मुख्य दुई काम हो । एउटा सेवा प्रवाह गर्नु हो भने अर्को राजस्व पनि संकलन गर्नु हो । गत बर्ष हामीले बीस करोड जति राजस्व संकलन गरेका थियौं । यो बर्ष सम्भवतः तीस करोडको हाराहारीमा राजस्व उठाउँछौ होला । राजस्व संकलन गर्ने मध्ये जिल्लामै तीन चार नम्वर भित्र पर्छौ । जनता त राजस्व तिर्न भनेर आउँछन नी यहाँ । राजस्व तिर्न आएका जनतालाई सर्भर चलेन । त्यसैले तपाईको काम हुँदैन भन्नु भनेको त हाम्रा लागि पनि लज्जाको बिषय बनेको छ ।

कति भयो सर्भरमा समस्या आउन थालेको ? अनि एक चोटी गयो भने कति समयसम्म हात बाँधेर बस्नुपर्छ त ?
यो समस्या लामो समयदेखि छ । म यस कार्यलयमा आएकै ८/९ महिना भइसक्यो । त्यो भन्दा पहिलादेखि नै यो समस्या छ । कहिले काँहि यो समस्या रेगुलर जस्तो पनि देखिन्छ । कहिले काँहि एक दुई दिन बिराएर हुन्छ । तर समस्या निरन्तर छ । त्यसैले हामीले सेवा दिन्छौ भन्दा भन्दै पनि सेवा दिन नसकेको अवस्था हो । कहिले काँहि सर्भर नचलेर सूचना टासेर सेवाग्राहीसँग माफि माग्नु पर्ने अवस्था पनि आउँछ ।

सेवाग्राहीको भीड त बढी नै हुन्छ होला नी ?
यति हुन्छ भनेर भन्न त सकिदैन हेर्नुस, हाम्रो कार्यालयमा दैनिक तीन/चार सय सेवाग्राही आउनुहुन्छ । ती सेवाग्राहीलाई छिटो छरितो सेवा दिन सोहि अनुसारको सर्भर छिटो चन्नु पर्छ । सर्भर त्यति छिटो चल्दैन । सरवर छिटो नचले सेवा प्रवाह गर्न समय लाग्छ । जस्तो लाइसेन्स बितरण गर्नु प¥यो । त्यसका लागि हामीले सुरुमा इन्ट्रि गर्नु पर्ने हुन्छ । अहिले बाइकको ट्राइल चलिरहेको छ । एउटा मान्छेको इन्ट्रि गर्न दश मिनेट लाग्यो भने १२/१३ हजार मान्छेको इन्ट्रि गर्न कति समय लाग्ला ? हामी सहजै अनुमान गर्न सक्छौ । अनि मान्छे लाईनमा बसेर सम्भव छैन । इन्ट्रिमा मात्रै महिनौ दिन लाग्ने अवस्था हुन्छ । एक जनको इन्ट्रि गर्न एक मिनेट वा आधा मिनेट मात्रै लाग्ने हो भने त हामी फटाफट काम गर्न सक्छौ नी । छिटो काम गर्न पाउँदा सेवाग्राही पनि खुसी हुने, हामीलाई पनि आनन्द आउने । तर कहिले काँही त एउटै नाम इन्ट्रि गर्न आधा घण्टा पनि लाग्छ । हामीले सेवा दिन्छौ भन्दा भन्दै पनि प्रविधिले साथ नदिइ रहेको अवस्था छ ।

यो समस्याको बारेमा विभागमा कुरा उठाउनु भयो कि भएन ?
हामीले विभागमा कुरा गरेका छौ । विभागबाट पनि यो सिष्टम अपग्रेट हुँदैछ भन्ने कुरा आएको छ । अनलाईन फर्म इन्ट्रि गर्ने कुरा सुधार्नु पर्छ भन्ने पनि मन्त्री ज्यूवाट निर्देशन भएको छ । सम्भवतः सुधार होला भन्ने अपेक्षा गरेका छौं ।

सेवाग्राहीको चापाचाप हुने कार्यालयमा यसरी तड्पिनु पर्दा कस्तो महसुस हुन्छ ? कहिल्यै नागरिक भएर यो कुरा सोच्नु भएको छ ?
जनताले दुःख पाउदा मलाई पनि पीडा हुन्छ । म पनि जनता हो । एउटा नागरीक हो । कुनै कार्यालयमा गएपछि सहज रुपमा मैले सेवा पाउँ भन्ने मेरो पनि अपेक्षा हुन्छ भने जनताको पनि त्यस्तो अपेक्षा हुनु स्वभाविकै हो ।

जनतामा कतै यिनीहरुले कम्प्युटर आफै बन्द गरिदिएकी भन्ने शंका आशंका पनि हुन्छ । हाम्रा कर्मचारीलाई काम गर्नलाई कामको ब्यारिएर पनि छैन । जतिवेला पनि हामी काम गरिरहेका हुन्छौ । काम गर्दा गर्दै पनि सिष्टमले साथ नदिदा हामीलाई पनि काम गर्न गाह्रो हुन्छ भने मलाई पनि पीडा बोध हुन्छ ।

यो त समस्याको पाटो भयो । समाधान के त ?
हाम्रो जुन सिष्टम छ । यसमा आधुनिकीकरण गर्न जरुरी छ । सबै काम कम्प्यूटर प्रविधिबाट गराउँदा छिटोछरितो, प्रभावकारी र पारदर्शी हुन्छ । कसैले गडबड गर्ने अवस्था हुदैन । काम सुधारोन्मुख अवस्थामा छ । भइरहेको छ । तर कुरा के हो भने हामीले छिटो काम गर्न सक्यो भने मात्रै हामीले जनताबाट ताली पाउने हो । सिष्टमले काम नगरेर हामीले गालि खाने अवस्था नआइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

अर्को पक्ष जनताले पनि कर्मचारीले काम गरेकै छन् है भन्ने सोच्नु पर्छ । म आईसकेपछि मैले दुई चारवटा सुधारका काम पनि गरेको छु । जस्तो म आउँदा खेरी शुक्रवार १२ बजेपछि रसिद नकाट्ने, अरु दिन दुई बजेपछि रसिद नकाट्ने भन्ने प्रचलन थियो । मैले त्यसलाई हटाएर सेवाग्राही आएपछि उसै दिन सेवा दिईरहेको छु

म आउने वित्तिकै त्यो काम सुरु गरेको छु । म्यानेजमेन्ट बाइ सराउन्डिङ्ग पद्धति अनुसार म कुर्सिमा बसेर प्रायः अर्डर गर्दैन । प्रत्येक कोठा कोठामा गएर कर्मचारीले के गरिरहेका छन्, कस्तो गरिरहेका छन् । निरीक्षण गरिरहेको हुन्छु । यो सबैभन्दा बढी गुनासो आउने छवि पनि नराम्रो भएको अफिस हुनाले कर्मचारीहरुले के के गरिरहेका हुन्छन् भनेर प्रायः कोठा कोठमा पुगिरहेको हुन्छु ।

अर्को नेपाल भरीकै समस्या भनेको लाइसेन्स हो । म आएको आठ महिनामा पाँच छ क्याटागोरीको मैले खोलि सकेको छु । एक दुई बर्षमा यो क्षेत्रमा लाइसेन्सको चापलाई कम गर्न सकिन्छ की भन्ने लागेको छ । नागरिक वडापत्रका कुराहरु, कर्मचारी युनिफर्ममा आउने, परिचयपत्र झुण्ड्यायर आउने जस्ता कुराहरुलाई पनि व्यवस्थित गर्न खोज्दै छु । नत्र यातायात ब्यवस्था कार्यालयमा कुन चाहीँ बाहिरको हो, कुन कर्मचारी हो, कुन दलाल हो भन्ने कुरा नचिनिने अवस्था पनि हुने भएकाले यसतर्फ पनि ध्यान दिइएको हो ।

तपाई आफै सेवाग्राही भएर हेर्दा जनताको कोणबाट सन्तोष लिने अवस्था छ त ?
सिष्टमले साथ नदिदा जनताको अपेक्षा अनुरुप सेवा दिन नसक्दा गाली खानु परेको अवस्था छ । हिजो पैसा दिएर काम गर्नु पथ्र्यो अझै पनि पैसा दिएर मात्रै काम हुन्छ भन्ने जुन मान्छेको प्रवृति छ त्यसमा सुधार भएको छैन । नियम कानुन बिपरित पनि काम गराउने प्रवृति हिजो हुन्थ्यो होला थाहा छैन मलाई । आज पनि त्यस्तै खोज्ने र अलिकति मुढेबल गर्ने मान्छेको प्रवृति पनि यदाकदा छ । हाम्रा सेवाग्राही भनेको सामान्यदेखि ठूल ठूला मान्छेसम्म हुन्छन । लाइसेन्स जसलाई पनि चाहिन्छ । कतिपय नबुझ्ने मान्छे पनि हामीसँग आउने गरेका छन् । कानुनको कुरा गरे पनि कोही कोहीले कानुन नबुझ्ने अवस्था पनि छ ।

तपाईकहाँ सेवा लिन आउने सेवाग्राही मध्ये सबैभन्दा टाउको दुखाइ को संग हुन्छ ?
कुरा बुझेर पनि बुझ पचाउने मान्छेलाई बुझाउन गाह्रो हुन्छ । बरु सामान्य मान्छेले यो यस्तो हो भने पछि कुरा बुझेर जान्छ । हिजो त्यसरी फरक ढंगले काम गर्ने मान्छे, अथवा कसैलाई दवाव दिएर काम गर्ने मान्छेले चाहीँ कुरो बुझे नी नबुझे जस्तो गर्छ ।

त्यस्तो अवस्थामा के गर्नुहुन्छ ?
मेरो यातायातको ठुलै अनुभव होइन । मैले यतै आएर अनुभव गरेको हुँ । आफुले साह्रै लोभ लालच नगरेर अनुशासनमा बस्ने हो भने मान्छेलाई बुझाउँदा बुझ्छन् । मलाई चाहीँ त्यो लागेको छ ।

बुँदागत रुपमा भन्नु पर्दा यातायात व्यवस्था कार्यालय धनगढीका राम्रा पक्ष के के हुन् ?
जुनसुकै वेला पनि हाम्रा कर्मचारीहरु काममा खटिन सक्छन् । तपाइहरु हेर्न पनि सक्नुहुन्छ । हाम्रा कर्मचारीहरु टेन टु फाइभ भन्ने छैन । आजकाल बिहान सात बजेदेखि ट्राइल छ । अहिले १२ बज्नै लाग्यो मैले खाना खाएको छैन । अब खाना खाएर फेरी सिधै अफिस जाने हो । चार बजेसम्म काम सकिएन भने पाँच बजेसम्म बसिन्छ । भनेपछि विहान सात बजेदेखि बेलुका पाँच बजेसम्म कुनै छुट्टै ब्यवस्था नहुँदा पनि काम गरिरहेका छन् । यो यउटा सुन्दर पक्ष हो ।

जनतामा पनि अहिले केही काम भइरहेको छ है भन्ने आशा पलाएको मैले देखेको छु । मन्त्री ज्यू पनि यही क्षेत्रको भएको हुँनाले कार्यलयमा आउने, अनुगमन तथा निरीक्षणले गर्नेदेखि लिएर हामीलाई निर्देशन दिने गरिरहनु भएको छ । त्यसबाट पनि हामीले हाम्रा कुरा राख्न पाएका छौ र उत्प्रेरणा समेत मिलेको छ ।

केही सुधार गर्नुपर्ने पक्ष पनि होलान्, के के कुरा सुधार गर्नुपर्छ ?
केही नराम्रा पक्ष पनि छन् । हामीले जति घण्टा काम गरे पनि कुनै छुट्टै किसिमको इन्सेन्टिभको व्यवस्था छैन । कार्यालयमा भौतिक स्रोत साधनको पनि अभाव देखिन्छ । उपसचिब कार्यालय प्रमुख भएको कार्यालयमा एउटा गाडीको सम्म व्यवस्था छैन । जसले गर्दा अनुगमनमा समस्या भएको छ । यसले अनुगमनको पाटोमा कमजोर बनाएको छ । कामको प्रेसरले पनि गाह्रो छ । अत्याधिक कामको लोड छ । त्यसका बावजुत पनि जे छ त्यसैलाई सदुपयोग गरेर, सबै मिलेर काम गर्नु पर्छ भन्ने मेरो मान्यता हो ।

आधारभुत आवश्यकता पनि हाम्रोमा परिपूर्ति भएको छैन । हाम्रो भवन पनि आफ्नो छैन । भवन बन्दै छ । एक बर्षपछि हामी हाम्रो भवनमा सर्छौ होला । तर अहिलेका भवनमा साघुरा कोठा भएकाले पनि हामीलाई काममा असहजता छ । भोली भवन बने ती समस्या समाधान होलान् र हामीले माग पनि गरिरहेका छौ । गाडी पनि आउँला । कतिपय अवस्थामा कर्मचारीलाई गरिने व्यवहारमा पनि समानता ल्याउन जरुरी छ । हामी जस्ता युवाहरुलाई एक किसिमको उत्प्रेरणा प्रदान हुने हो भने काम गर्न सक्छौं । नत्र भोली संगठन छोडेर जानु पर्ने अवस्था आउन सक्छ ।

जनताको सेवामा समर्पित कर्मचारीका रुपमा माथिल्लो निकाय र खासगरी सरकारलाई के भन्न चाहनुहुन्छ त ?
मोफसलका कर्मचारीहरुको पनि उचित मूल्याड्ढन गरियोस् । राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डसजायको व्यवस्थालाई व्यवहारमा लागू गरियोस् भन्ने माथिल्लो निकाय संग मेरो आग्रह छ ।

संवाद तथा प्रश्तुती: एस राज उपाध्याय

Tags :
प्रतिक्रिया दिनुहोस