आगो लगाउनेले खरानी पनि सोहोर्न सक्नुपर्छ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आगो लगाउनेले खरानी पनि सोहोर्न सक्नुपर्छ


प्रशासन विशेष ब्युरो

२२ मंसिर २०७३, बुधबार


आजीवन अन्वेषकका रुपमा रहेका योगी नरहरीनाथ वेद, देदान्त, इतिहास, पुरातव्त, पुराण लगाएत मानव जीबनसंग सम्बन्धित अन्य धेरै विषयका ज्ञाता मात्रै थिएनन् उनी एक प्रकाण्ड विद्वान नै थिए । कर्णाली अञ्चलको कालीकोट जिल्ला अन्तर्गत लालू गाउँमा जन्मिएका योगी नरहरीनाथले पश्चिम नेपालबाट शुरु गरेको ऐतिहासिक तथा पुरातात्विक खोजलाई पूर्व मेची देखि पश्चिम महाकालीसम्म वारीको शिला खोजेजस्तै गरी खोतलेका छन् । देश मात्रै हैन विदेशको समेत लामो अनुभव रहेका छ । विक्रम संवत् २००४ साल देखि नै पुस्तक लेख्न थाल्नु भएका योगीले २०५४/०५५ सालसम्म आइपुग्दा करीब ५५१ हाराहारीमा पुस्तक लेखेको देखिन्छ । जसमध्ये ३०७ वटा पुस्तकहरु मात्रै फेला परेका छन् । योगी नरहरीनाथद्धारा विक्रम संवत् २०२२ सालमा स्थापना गरिएको श्रीवृहद् आध्यात्मिक परिषद्ले यतिबेला उनका पुस्तकहरुको प्रदर्शनी गर्ने भएको छ । यसै सन्दर्भमा केन्द्रित रहेर प्रशासन डटकमले परिषद्का महासचिव विश्व केसी (पोखरेल)संग गरेको कुराकानी:

 

योगी नरहरिनाथका पुस्तकहरूको महत्वबारे प्रकास पारिदिनुस् न ?

योगीको दर्शन नै बुझ्न जरुरी छ जसका आधारमा करिब ५७१ वटाजति साना ठूला पुस्तक तथा ग्रन्थहरू तयार भएका थिए । त्यसपछि मात्रै पुस्तकको महत्व बुझ्न सजिलो होला । हिन्दूधर्म सर्वश्रेष्ठ धर्म हो, ॐ लाई मूलमन्त्र मान्ने सम्पूर्ण मानिसहरू हिन्दू नै हुन्, पछि भिन्नभिन्न हाँगामा फाट्दै गए । सबै भाषाको माउ भाषा संस्कृत नै हो, पछि अनेक भाषा विकसित हुँदै गए । सबैभन्दा सभ्य संस्कृति भनेको वैदिक संस्कृति हो । यही प्राचीन भाषा, प्राचीनधर्म, प्राचीन संस्कार नै हिन्दूहरूको मौलिक पहिचान हो भन्ने योगीको मूलदर्शन हो । यही दर्शनका कारण उहाँको कलम विविध क्षेत्रमा चलेको छ । ज्यौतिष शास्त्र बाहेक सबै विद्यामा उहाँको कलम चलेको पाइएको छ । त्यसैले संस्कृत भाषाको संरक्षण अभियान, इतिहास र पुरातत्वको संरक्षण अभियान तथा यज्ञयागादि गरेर वैदिक संस्कृतिको संरक्षण अभियान, गौसंरक्षण अभियानमा उहाँको जोडबल रह्यो । उहाँका पुस्तकहरू यिनै सन्दर्भहरूमा रचना गरिएका हुनाले ती पुस्तकहरूको उच्च महत्व रहेको छ ।


जसले हाम्रो भाषा, संस्कृति, परम्परा बुझेको छैन, उसैले लेखका पुस्तकहरु हाम्रो पाठ्यक्रममा छन् । 

हाम्रो मौलिक भाषा, मौलिक इतिहास, मौलिक संस्कृतिको ज्ञान नभइ दिनाले खुट्टामा चप्पल र माथि टाईसुट लगाएको जस्तो हुन पुगेको छ हाम्रो पहिचान । अहिले जसको मूलभाषा हो त्यसलाई आफ्नो मूल भाषा खोज्न र सिक्न विदेश पुग्नु परेको छ । हामीसँग त केवल टाई सुट मात्रै रह्यो, राम्रोसँग लगाउन पनि आउदैन । जसको सम्पत्तिहो उसलाई पो सुहाउला त, भोटो कछाड लगाउने हामीलाई टाई सुट किन सुहाउँथ्यो ? बरु विदेशीले हाम्रो पोशाक लगाइ दिएको देखिन्छ कहिलेकाहिँ, उसलाई पनि सुहाउँदैन हाम्रो पोशाक । योगीका कृतिहरूले यही आफ्नोपनलाई अपनाउन जोडबल गरेका छन् ।

पुस्तक प्रदर्शनीको खास उद्देश्य के हो ?

योगी नरहरिनाथका कृतिहरू सबैकालागि सर्वसुलभ तुल्याउने, योगीका दूर्लभ तथा अप्रकाशित पुस्तकहरू प्रकाशनका निमित्त पुस्तक विक्रीको माध्यमबाट आर्थिक स्रोत जुटाउने र नेपालको इतिहास, पुरातत्व, संस्कृतिको अध्ययन अनुसन्धानकालागि स्वदेशी विद्वद्वर्गलाई घचघच्याउने नै यस प्रदर्शनीका खास उद्देश्यहरू हुन् ।

प्रदर्शनीमा कुन कुन पुस्तकहरु राखिदैछन् ?

योगी नरहरिनाथले बि.सं. २००४ सालदेखि नै पुस्तक प्रकाशन गर्न थाल्नु भएको थियो । त्यसपछि उहाँ सभापति भएको अखिल भारतवर्षीय योग प्रचारिणी महासभाले बि.सं. २००७ सालको हरिद्वार कुम्भमेला देखि पुस्तकहरू प्रकाशनगर्ने कार्यलाई संस्थागत रूपमै अगाडि बढाएको थियो । यो क्रमकरिब ५४/५५ सालसम्म नै चलेको थियो । यस क्रममा करिब ५७१ को हाराहारी पुस्तकहरू प्रकाशन भएको देखिन्छ । अहिले ती पुस्तकहरूमध्ये ३०७ वटा पुस्तक, ११ वटा पत्रिकाहरू र करिब १३ वटा पर्चा पम्पलेट भेटिएका छन् । तर, प्रदर्शनीमा ४९ वटा पुस्तक अवलोकनका लागि मात्र, ४२ वटा पुस्तक विक्रीका लागि र १३ वटा पर्चा पाम्पलेट निशुल्क वितरणका लागि लगिँदैछन् । पुस्तकहरूको महत्वका आधारमा प्रदर्शनीकालागि छनौट गरिएका छन् ।

उनका पुस्तकमा खास कस्ता विषयवस्तुहरु समेटिएका छन् ?

हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो परम्परा बुझ्दैन उसले नै लेखेका र रचना गरेका पुस्तकहरू हाम्रो पाठ्यक्रममा छन् । यसैलाई हामीले विदेशीहरूकोे ठूलो योगदान देखिरहेका छौँ । हाम्रा आफ्नाले नै त्योभन्दा राम्रो गरेका छन्, गर्न सक्छन् । नजिकको तिर्थ हेला भनेजस्तै त्यसको वास्ता गरिँदैन । त्यहीभएर राष्ट्रगुरु योगी नरहरिनाथद्वारा मृगस्थली आश्रममा संग्रह गरिएका सामग्रीहरू नेपाल र नेपाली जनताको मौलिक पहिचानसँग जोडिएका सामग्रीहरू भएको हुँदा यिनको संरक्षण संवद्र्धन, अध्ययन अनुसन्धान एवम् पठनपाठनको पहिलो अधिकार पनि नेपालीजनकै रहेकोले यी सामग्रीहरू उपर कुनै पनि गैरनेपाली संघसंस्था वा ब्यक्तिको कुनै अधिकार स्थापित हुन नसक्ने, संरक्षण संवद्र्धन कार्यकालागि प्राप्त हुने सहयोग अनुदानका नाममा नेपाल र नेपालीको हक अधिकार कुण्ठित हुन नपाउने तथ्यप्रति श्रीबृहद् आध्यात्मिक परिषद् पूर्ण सजग रहेको छ ।

यसका लागि पुस्तकालयमा संग्रह गरिएका सामग्रीहरू नेपाल र नेपालीको वृहत्तर हितका पक्षमा मात्र उपयोग हुन सक्ने, तिनको अध्ययन अनुसन्धानका लागि स्वदेशी विद्वान् तथा अनुसन्धाताहरूकै प्रथम अधिकार रहने र नेपाल सरकारको अनुमती बिना अन्य गैरनेपाली संघ संस्था वा व्यक्तिहरूको पहुँच हुन नदिने नीति अवलम्बन गरिएको छ योगी नरहरिनाथ वा गोरक्षनाथ वा योगीले संग्रह गरेका सामग्रीहरूको अध्ययन अनुसन्धान गर्नका लागि विदेशको भूमिमा दौडनुपर्ने अवस्था आउन नदिन हामी एकदम सचेत छौँ ।

उनीद्धारा लिखित हरेक पुस्तकको विशिष्ट महत्व रहँदै आएको छ जसलाई राज्यले खोज, अध्ययन र अनुसन्धानको विषय बनाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । जव यी पुस्तकहरुका बारेमा अध्ययन शुरु हुने छ तव उनको योगदानको बारेमा धेरैको आँखा खुल्ने छ ।

गुठी संस्थान र बृहद् आध्यात्मिक परिषद्का बीच जुहारी चल्दै आएको छ, खासमा कुरा के हो ?

गुठी संस्थान र परिषद्काबीच कुनै मनमुटाव छैन । उहाँहरूले ताल्चा लगाएपनि बेला बेलामा खोलेर रेखदेख गरिदिने वा ल है यस्तो भएको छ, के गर्ने भन्ने गरेको भए गुनासो गर्ने ठाउँ नै रहने थिएन । उहाँहरु ताल्चा लगाइ दिएर चुपचाप बस्नु भयो । जसले गर्दा योगीका महत्वपूर्ण सामग्री सडे, गले । गमलामा बिरुवा रोपेर मात्रै संरक्षण हुन्छ र ? गोडमेल, मलपानी केहीगर्नु नपर्ने ? मृगस्थलीमा हेर्नुहोस् न, करिब २ ट्रक फोहोर जम्मा भएको छ । राखेका छौँ, सबैले देखुन् भनेर । सारा कागजपत्र र पुस्तकहरू माटो भएका छन् । लिखित रूपमै उहाँहरूलाई जानकारी गराइसकेका छौँ । तै पनि आज यत्तिका दिन भइसक्यो, टेलिभिजनमा हामी उहाँहरूलाई सहयोग गर्छौ, नोक्सान भएको छ भन्नुहुन्छ । तर आजसम्म मृगस्थलीको सिँढि उक्लनु भएको छैन । नोक्सान भइसकेपछि त्यसको जिम्मा पनि नलिने ? आगो लगाउनेले खरानी पनि सोहोर्न सक्नु पर्छ । भो यस बिषयमा धेरै कुरा गर्नुको कुनै अर्थ छैन । संरक्षण संवद्र्धनको क्रममा अहिलेसम्म करिब ४० हजारको संख्यामा पुस्तक, महत्वपूर्ण कागजात आदि संरक्षण भइसकेका छन् । तिनै पुस्तकहरूलाई प्रदर्शनीमा लैजाने प्रयास हो यो ।

 

र यो पनि

अधिकारक्षेत्र सबैले बुझौँ

आगो लगाउनेले खरानी पनि सोहोर्न सक्नुपर्छ

प्रतिक्रिया दिनुहोस