पाकिस्तानमा रेल दुर्घटना, कम्तीमा २१ जनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पाकिस्तानमा रेल दुर्घटना, कम्तीमा २१ जनाको मृत्यु


प्रशासन संवाददाता

१८ कार्तिक २०७३, बिहिबार


इस्लामावाद(एजेन्सी) । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा बिहीबार बिहान यात्रुवाहक दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ४५ जना घाइते भएका अस्पताल स्रोतले जानकारी दिएको छ ।

कराँची सहरमा अवस्थित जिन्नाह अस्पतालका प्रवत्ता सीमी जमालीले घटनास्थलबाट २१ वटा शव र ४५ जना घाइतेलाई अस्पतालमा ल्याइएको जानकारी दिनुभयो ।

मृतक मध्ये कम्तीमा २ जना बालबालिका र तीन जना महिला रहेका पनि प्रवक्ता जमालीले बताउनु भयो ।

क्वाडाफी रेलस्टेशनमा फ्यारिड एक्सप्रेस रोकिईरहेका बेला उही रेललिकबाट उही गन्तव्य तर्फ आईरहेको जक्रिया एक्सप्रेस आएर ठक्कर खाएको पाकिस्तान रेलवेका उपप्रवन्धक नसिर अजिजले जानकारी दिनुभयो ।

उहाँले दिएको प्रारंभीक विवरणहरुका अनुसार जक्रिया एक्सप्रेस रोक्न खोज्दा पनि नरोकिएकाले दुर्घटना भएको हो । दुवै रेल पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने पञ्जावबाट आईरहेका थिए ।

रेलवे कार्यालयले घटनाका बारेमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरिने जानकारी दिएको छ । दुर्घटना भएको धेरै समयपछिसम्म पनि उद्धारकर्ताहरुले रेलभित्र थिचिएकाहरुको उद्धार गरिरहेका थिए ।

घाइते मध्ये टाउको र घाँटीमा चोट लागेका केहीको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ ।

पाकिस्तानी सेनाको इन्जीनियरिङ इकाइले रेलमार्ग खुलाउनका लागि रेलमार्गमै रहेका ती दुवै रेललाई हटाउने काम गरिरहेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलले घटनाप्रति दुःख व्यक्त गर्दै घाईतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस