विद्युत् अभावमा टेलिकमका दश टावर बन्द « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विद्युत् अभावमा टेलिकमका दश टावर बन्द


प्रशासन संवाददाता

२४ श्रावण २०७३, सोमबार


२४ साउन, बागलुङ । बागलुङको पश्चिम भेगका १० वटा टेलिकमका ‘बिटिएस टावर’ विद्युत् अभावमा बन्द हुँदा दर्जन बढी गाविसमा सञ्चार बिच्छेद भएको छ ।

टावर बन्द भएपछि नेपाल टेलिकमबाट प्रवाह हुने सबै सेवा प्रभावित बनेको छ । दुई साताअघिको बाढीले २० वटा लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएपछि त्यस क्षेत्रमा विद्युत् अवरुद्ध छ ।

टेलिकमको ल्यान्ड फोन, प्रिपेड, पोस्पेड, स्काइलगायतका सबै सेवा बन्द रहेको प्रयोगकर्ताले जनाएका छन् । लघुजलविद्युत् आयोजनाबाट निस्कने विद्युत्मा निर्भर रहेका ‘बिटिएस टावर’ सञ्चालनको प्रयास भइरहेको नेपाल टेलिकम बागलुङले जनाएको छ ।

तत्काल पाँच ठाउँको ‘टावर’ सञ्चालनमा ल्याउन आवश्यक उपकरण पठाउन लागिएको इन्जिनियर अमृत नेपालले बताए ।

विद्युत् रोकिएको चार दिनसम्म ब्याट्रीले धाने पनि त्यसपछि १० वटै टावर बन्द भएको उनको भनाइ छ । बोङ्गादोभान, देवीस्थान, दर्लिङ र खुङ्खानीमा केही दिनमै सेवा सुचारु हुने जनाइएको छ ।  अधिकारीचौर, बुर्तिवाङलगायतका गाविसमा भने समय लाग्ने देखिएको छ ।

तत्कालको लागि सानो क्षमताको सोलार राखेर भए पनि आंशिक सेवा सञ्चालन गर्ने योजना टेलिकमले बनाएको छ । त्यसो गर्दा बुर्तिवाङ बजार क्षेत्रमा रहेका ‘ल्याण्ड–लाइन’ टेलिफोन सञ्चालनमा ल्याउन सकिने जनाइएको छ । अन्य केही स्थानका टावरमा पनि सानो जेनेरेटर राखेर सेवा सुचारु गर्ने तयारी भइरहेको छ ।

“सडकमार्ग अवरुद्ध भएका कारणले पनि जेनेरटरलगायतका उपकरण पुर्याउन कठिन भइरहेको छ ।

ग्वालीचौरदेखि पश्चिमका गाविसमा टेलिकमको कुनै पनि नेटर्वकले काम नगरेको बुर्तिवाङका ऋतुवर्ण पौडेलले बताए । ठूलो सङ्ख्यामा लघुजलविद्युत् आयोजना बन्द भएपछि १० हजारभन्दा बढी घरधुरी अहिले अँध्यारोमा बस्न बाध्य छन् । आयोजनाको पावर हाउस, कुलो र मुहानमा पुगेको क्षतिले कुल ८३५ किलोवाट विद्युत् उत्पादन रोकिएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग, जिविस, गाविस, साझेदार सङ्घसंस्था र स्थानीयको समेत लगानी र श्रमदानमा बनेका आयोजनामा करोडौँको क्षति पुगेको छ । ऊर्जामा आधारित लघु उद्योग समेत बन्द भएका छन् । जिल्लाको पश्चिमका निशी, भुजी र तमान खोलामा आएको बाढीले आसपासका बस्ती, भौतिक संरचना र सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस