काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुमण्डलीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली देखिएको छ भने तराई क्षेत्रमा आंशिकदेखि सामान्य रूपमा आकाश खुला रहेको अवस्था छ।
महाशाखाका विवरणअनुसार कोशी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज रातिको पूर्वानुमान अनुसार कोशी प्रदेश तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। मधेस प्रदेश र अन्य पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने अपेक्षा गरिएको छ भने तराई क्षेत्र सामान्यतया सफा रहने सम्भावना छ।
त्यस्तै, कोशी प्रदेशका केही स्थान, मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले सोमबार र मंगलबार मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा गर्मी बढ्ने तथा तातो दिनको अवस्था देखिन सक्ने सम्भावना रहेको जनाएको छ।
त्यसैगरी आगामी दुई दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहने पूर्वानुमान पनि गरिएको छ।







