काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल र नेपालका लागि सिंगापुरका डेपुटी एम्बेस्डर सुमाया बाकाभीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बिहीबार काठमाडौँ प्लाजास्थित कार्यवाहक मेयरको कार्यकक्षमा भएको भेटमा सहरी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, विकासका प्राथमिकता तथा नवप्रवर्तनका विषयमा छलफल भएको महानगरले जनाएको छ ।
भेटका क्रममा सिंगापुर पक्षले स्थानीय शासन प्रणाली, स्थानीय तह निर्वाचन, महिला प्रतिनिधित्व तथा प्रमुख-उपप्रमुखको कानुनी जिम्मेवारीलगायत विषयमा चासो राखेको बताइएको छ ।
वार्तामा सिंगापुर दूतावासका पोलिटिकल फस्ट सेक्रेटरी अब्राहम टाम र जोस्हुआन लिम तथा सोसल सेक्रेटरी सोनिया सहभागी थिए। महानगरपालिकाका तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख गंगाधर गौतमसहित अन्य अधिकारी उपस्थित रहेका थिए ।







