काठमाडौँ। सोलुखुम्बुको लोबुचे क्षेत्रमा गत १२ कात्तिक २०८२ मा भएको अल्टिच्युड एयर को ‘९एन-एएमएस’ दर्ता नम्बरको हेलिकप्टर दुर्घटना ‘ह्वाइट आउट’ अवस्थाका कारण भएको निष्कर्ष सार्वजनिक गरिएको छ।
दुर्घटनापछि गठित जाँच समितिको अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार सार्वजनिक गर्दै अवतरणका क्रममा उत्पन्न दृश्यता समस्यालाई प्रमुख कारणका रूपमा औँल्याएको हो।
प्रतिवेदन अनुसार अवतरणको समयमा हेलिप्याड ताजा हिउँले ढाकिएको थियो। हेलिकप्टर स्थिर बनाउने क्रममा रोटरबाट उठेको हावाले हिउँ उडाउँदा दृश्यता अचानक घटेको र ‘ह्वाइट आउट’ अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। यही परिस्थितिमा पाइलटले सन्तुलन गुमाउँदा मुख्य रोटर जमिनमा ठोक्किएको र हेलिकप्टर पल्टिएको जनाइएको छ।
उक्त उडान विवेक खड्का ले सञ्चालन गरेका थिए र हेलिकप्टरमा उनी एक्लै सवार थिए। लुक्लाबाट बिहान ७:४१ बजे उडेको हेलिकप्टर करिब ११ मिनेटमा लोबुचे पुगेको थियो।
प्रतिवेदनले हेलिकप्टरमा प्राविधिक खराबी नभएको स्पष्ट पारेको छ भने मानवीय क्षति नभए पनि यानमा गम्भीर क्षति पुगेको उल्लेख गरेको छ। अवतरणका क्रममा कम दृश्यता हुँदाहुँदै पनि प्रक्रिया निरन्तरता दिनु दुर्घटनाको एक प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ। साथै, घटनास्थलमा ग्राउन्ड स्टाफको अनुपस्थिति हुँदा पाइलटले आवश्यक सहयोग नपाएको पनि देखिएको छ।
नियामक पक्षतर्फ औँल्याउँदै प्रतिवेदनले लुक्ला क्षेत्रमा पर्याप्त जिम्मेवार अधिकारीको अभावले उडान नियमन र जोखिम मूल्यांकनमा कमजोरी देखिएको जनाएको छ।
भविष्यमा यस्ता घटना न्यूनीकरणका लागि प्रतिवेदनले व्यस्त समयमा सब–बेसहरूमा अनिवार्य रूपमा जनशक्ति खटाउन, उडानअघि अवतरण स्थल र मौसमबारे विस्तृत जानकारी लिन, दुर्गम तथा उद्धार उडानका लागि पूर्वजोखिम मूल्यांकन प्रणाली लागू गर्न सुझाव दिएको छ। साथै, उच्च हिमाली क्षेत्रका हेलिप्याडमा स्पष्ट संकेतक (मार्कर) राख्ने र हिउँयुक्त क्षेत्रमा उडानसम्बन्धी छुट्टै निर्देशिका तयार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।







