काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइको माग गर्दै सरकारसमक्ष ज्ञापन पत्र बुझाएको छ।
आइतबार एमाले ताप्लेजुङको टोली जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र पेश गरेको हो। कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमु (दीपेन) नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँलाई ज्ञापन पत्र बुझाउँदै पार्टी अध्यक्ष ओलीसहित पक्राउ परेका सबै नेताको रिहाइको माग गरेका छन्।
ज्ञापन पत्रमा कार्की आयोगको प्रतिवेदनलाई आधार बनाउँदै पार्टी अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु देशलाई द्वन्द्वतर्फ धकेल्ने कदम भएको आरोप लगाइएको छ। एमाले ताप्लेजुङले उक्त आयोगलाई ‘कथित आयोग’ भन्दै प्रतिशोधात्मक कदमको रूपमा नेताहरूलाई नियन्त्रणमा लिइएको ठहर व्यक्त गरेको छ।
पार्टीका प्रतिनिधिहरूले पक्राउ गरिएका नेताहरूको तुरुन्त रिहाइका साथै प्रतिशोधात्मक दमन र धरपकड बन्द गर्न सरकारसँग जोडदार माग राखेको ज्ञापन पत्रमा उल्लेख छ।







