काठमाडौँ । जेन जेड मुभमेन्ट नेपालले जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझका लागि गठन गरिएको गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिनु गम्भीर विषय भएको भन्दै तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
संस्थाले सार्वजनिक गरिएको वक्तव्यमा प्रतिवेदन लुकाइनु पारदर्शिता, जवाफदेहिता र सुशासनका मान्यता विपरीत भएको उल्लेख गर्दै राज्य संयन्त्रप्रति विश्वास कायम राख्न यथाशीघ्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने धारणा राखिएको छ।
आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य सार्वजनिक हुने विषय जनअधिकारसँग प्रत्यक्ष सम्बन्धित भएकाले त्यसबाट नागरिकलाई वञ्चित गर्न नहुने उनीहरूको भनाइ छ।
जेन जेड मुभमेन्ट नेपालले निर्धारित समयसीमा उल्लेख गर्दै तोकिएको मितिभित्र प्रतिवेदन सार्वजनिक नभए राजधानीमा शीतल निवास क्षेत्रमा केन्द्रित भएर विरोध कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ। सो आन्दोलनका क्रममा उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने उनीहरूको दाबी छ।
वक्तव्यमा आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाइने उल्लेख गर्दै आवश्यक परे थप सशक्त कदम चालिने संकेत गरिएको छ। वक्तव्यमा संगठनका प्रतिनिधि विजय शाहको नामबाट सार्वजनिक गरिएको जानकारी समेत समावेश छ।








