काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि अस्थायी रूपमा भर्ना गरी परिचालन गरिएका निर्वाचन प्रहरीहरूलाई काठमाडौँमा औपचारिक रूपमा बिदाइ गरिएको छ।
बिहीबार काठमाडौँको प्रहरी वृत्त तीनकुने बाट निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरूलाई टीका र खादा लगाएर बिदाइ गरिएको हो। कार्यक्रममा प्रहरी अधिकारीहरूले उनीहरूको सेवाको प्रशंसा गर्दै सम्मानपूर्वक बिदाइ गरेका थिए।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। सो निर्वाचनमा चारवटै सुरक्षा निकाय तथा अस्थायी रूपमा नियुक्त निर्वाचन प्रहरीसमेत गरी कुल ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी परिचालन गरिएको विवरण सार्वजनिक भएको छ।
यस क्रममा सशस्त्र प्रहरी बल नेपाल का ३४ हजार ५७६ जना सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिएका थिए। सशस्त्र प्रहरीको संरचनामै रहने गरी १५ हजार ११० जना निर्वाचन प्रहरी पनि परिचालन गरिएको थियो।
त्यस्तै नेपाली सेना बाट ७९ हजार ७२७ जना र नेपाल प्रहरी बाट ७५ हजार ५९७ जना सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिएको थियो। नेपाल प्रहरीको मातहतमा रहने गरी थप १ लाख ३० हजार ९८० जना निर्वाचन प्रहरीसमेत खटाइएको थियो।
निर्वाचन सुरक्षामा सूचना संकलन र निगरानीका लागि १ हजार ९२१ जना गुप्तचर परिचालन गरिएको पनि जनाइएको छ।







