कम्प्युटर अपरेटर पदका विषयमा देखिएका भ्रमहरू « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कम्प्युटर अपरेटर पदका विषयमा देखिएका भ्रमहरू


सागरराज कुँवर

२८ असार २०७५, बिहिबार


सामान्य प्रशासन मन्त्रालयले अब उप्रान्त लोकसेवा आयोगमार्फत् कम्प्युटर अपरेटरमा कर्मचारीको भर्ना नलिने विषयमा विभिन्न तह र तप्काबाट आक्रोश, गुनासा र समर्थन सहितका विचार तथा टीका टिप्पणी भइरहेका छन् । निजामती सेवाका जुनसुकै पदहरूमा कम्प्युटर विषय अनिवार्य गरी हरेक कर्मचारीलाई कम्प्युटरमा दक्षता हासिल गराई आफ्नो काम आफै गरौं र साधारण खर्चलाई कम गराउने उद्देश्यले सामान्य प्रशासन मन्त्रालयले यस्तो कदम चालेको होला ।

झट्ट हेर्दा सरकारको यो कदम राम्रै देखिएता पनि यसले पर्ने असरबारे पूर्वमूल्यांकन तथा अनुसन्धान नभएको हो कि जस्तो लाग्नु स्वाभाविकै हो । तर, सरकारले कुन उद्देश्यले यस्तो कुरा उठायो, त्यो बाहिर आइनसकेता पनि अहिले हामी करार सेवामा कार्यरत कर्मचारीहरूलाई चारैतिरबाट प्रहार भइरहेको अवस्था विद्यमान छ । विभिन्न तह र तप्काका अझ निजामती क्षेत्रकै कतिपय कर्मचारीहरूले समेत करार सेवाका कम्प्युटर अपरेटरहरूबाट राम्ररी कार्य सम्पादन हुन सक्दैन भन्ने जस्ता लाञ्छना आइरहँदा हामी लामो समयदेखि अनवरतरूपमा कार्यरत कर्मचारीहरू विक्षिप्त बनेका छौं ।

हो, अपवादको रूपमा केही व्यक्ति जो औंलाले गन्न सक्ने छन्, त्यस्ता प्रवृत्तिका नहोलान् भन्न सकिँदैन । जो पहुँचको भरमा केही समयको लागि भर्ती गरिएका हुन्छन् र त्यही पहुँचको भरमा कामै नजानी नियुक्ति लिएका पनि होलान् । तिनै एक–दुई जनालाई देखाएर हजारौं कर्तव्यनिष्ठ कर्मचारीप्रति आक्रोश पोख्नु निर्लज्जसिवाय अरु केही होइन । करार सेवाका कम्प्युटर अपरेटरहरूले काम गरेका छन् कि छैनन् ? उनीहरूबाट राज्यलाई फाइदा छ कि बेफाइदा ? त्यसको आउटपुट हेरी छिनोफानो गर्ने निकाय सरकारी निकाय नै हो । आफ्ना मान्छेलाई भर्ती गर्न करार सेवामा मात्र कम्प्युटर अपरेटर भर्ती गर्नकै लागि स्थायी पदपूर्ति बन्द गर्न लागेको भन्ने टीकाटिप्पणी खेदजन्य छ । एक–दुई जनालाई देखाएर अयोग्य सावित हुने हो भने त निजामती क्षेत्रमा पनि त्यस्ता धेरै भेटिन्छन्, त्यतातिर बोल्नु उचित छैन ।

देश संघीयतामा गएको छ जनतालाई सिंहदरवारको सुविधा गाउँमै गएर दिने नारा अझै गुञ्जिरहेका छन् । वल्लो टेबुलको पानीको ग्लास अर्को टेबुलमा सार्न कार्यालय सहयोगी नै चाहिने परिपाटी रहेको हाम्रो निजामती प्रशासनमा यति हतारमै निर्णय लिँदा कार्यालय सञ्चालनमा समस्या नपर्ला भन्न सकिँदैन । सरकारले हतारहतारमा कम्प्युटर अपरेटरको दरबन्दी हटाउँदा सबै कार्यालयमा कम्प्युटरमा पोख्त अन्य कर्मचारी समायोजन गर्न सक्छ कि सक्दैन ? यो विषयमा पनि नजर पुर्याउन जरुरी छ । साइडमा खटिने प्राविधिकलाई एक्कासी डकुमेन्ट बनाउनुपर्यो वा लिखित पत्राचार गर्नुपर्यो भने तत्काल त्यो सम्भव हुँदैन त्यतिबेला कम्प्युटर अपरेटरको कमी महसुस अवश्य हुन्छ । त्यसैले कम्प्युटर अपरेटर दरवन्दी हटाउँदा पर्न सक्ने असरबारे आँकलन गर्न पनि जरुरी छ ।

रह्यो करार सेवाका कर्मचारीहरूको कुरा । लामो समयदेखि कार्यरत करार सेवाका कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटरहरूको अबको अवस्था के हुने यसबारे कहिँकतैबाट ठोसरूपमा कुनै कुराहरू निस्किन सकेका छैनन् । अनुगमन तथा निरीक्षण गर्नुपर्याे । कुन कार्यालयका करार सेवाका कम्प्युटर अपरेटरहरूले कार्यसम्पादनमा ढिलाइ गरेका छन् । कति सुविधामा कति समय दिएका छन् । र, लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई कसरी हुन्छ व्यवस्थापन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । जसरी करारका विषयमा लोकसेवा पास गर्न नसकेर पहुँचका भरमा सुतेर खान पल्केका भन्ने आरोपहरू आइरहेका छन् नि, त्यसको मुख्य कारण लोकसेवा पास गर्न नसकेर भन्ने मात्र होइन । दरबन्दी संख्या थोरै भएर वा पढ्ने अवसरबाट वञ्चित भएर वा दूरदराजमा रहेर आदि कारण पनि यो सेवामा आफ्नो पेट पाल्नकै लागि वस्तुसरह खरिद भएर मात्र करार सेवामा कार्यरत छन् ।

करार सेवामार्फत् सरकारको सेवा गर्नु पाप होइन, त्यो बाध्यता थियो । किनकी यो सेवा भित्राएको हामीले होइन, तत्कालीन सरकारले हो हामी बाध्य थियौं । र, न वस्तुसरह खरिद भएर सेवा प्रवेश गर्यौं । के लोकसेवा पास गर्न नसक्ने नेपाली नागरिकलाई अन्य बाटो रोज्ने र आफ्नो जीविका चलाउने अधिकार छैन । यदि छैन भने हामीलाई दोस्रो मात्र होइन, तेस्रो दर्जाको नागरिकको हैसियत दिएर नेपाल सरकारले दिएको नागरिकतामा तेस्रो मुलुकबाट आयातित भनी स्टिकर टाँसियोस् होइन भने हामीलाई पनि बाँच्ने अधिकार छ त्यो अधिकार बेरोजगार र नांङो र भोको रहेर प्राप्त हुँदैन ।

हामी करार सेवाका कम्प्युटर अपरेटरहरूमा पनि कार्यसम्पादन गर्ने खुबी छ । हामीलाई पेन्सन पनि चाहिँदैन न्यूनतम सुविधामा पनि अहिले जस्तै सेवा दिन तयार छौं । तर, रोजगारीको ग्यारेन्टी र निस्कने बेलामा खाली हात फर्कने वातावरण नबनोस् र करार सेवाका कम्प्युटर अपरेटरका विषयमा अहिले फैलाइएका अफवाह र हल्लाको पछि नलागी उक्त भ्रम हटाउन सम्बन्धित निकायको ध्यान जानेछ । ‘आफ्नो आङको भैंसी नदेख्ने, तर अरुको आङको जुम्रा समेत देख्ने’हरूमा सद्बुद्धि पलाओस् । शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस