काठमाडौँ । निर्वाचन आचारसंहिताको उल्लंघनसम्बन्धी प्राप्त उजुरीमाथि निर्वाचन आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ५१ वटा निवेदन दर्ता भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण मागिएको आयोगले जनाएको छ। तीमध्ये ३० वटा प्रकरणमा लिखित जवाफ प्राप्त भइसकेको छ।
आयोगका अनुसार उजुरीको दायरामा परेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी निकाय, सञ्चार संस्था र पत्रकारसमेतसँग स्पष्टीकरण मागिएको हो। दर्ता भएका सञ्चारमाध्यम र तिनमा आबद्ध सञ्चारकर्मीका हकमा आवश्यक स्पष्टीकरण र सम्भावित कारबाहीका लागि प्रेस काउन्सिल नेपालमार्फत पत्राचार गरिएको कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए।
जिल्ला तहमा पनि आचारसंहिता उल्लंघनसम्बन्धी निवेदनहरू प्राप्त भई आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको आयोगले स्पष्ट पारेको छ। उल्लंघनका घटनालाई न्यूनिकरण गर्दै आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्राप्त उजुरीमाथि जाँचबुझ र निर्णय प्रक्रियालाई तीव्र बनाइएको जनाइएको छ।
यस प्रयोजनका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रूपमा परिचालित छन्। निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई गैरआर्थिक विषयको अनुगमन जिम्मेवारी दिइएको छ भने आर्थिक पक्षको निगरानीका लागि प्रमुख कोष नियन्त्रक-कोष नियन्त्रकलाई तोकिएको छ।
आयोगले छोटो अवधिमै जिल्लास्तरका सरोकारवालालाई आचारसंहिताबारे अभिमुखीकरण गरी पालना गर्ने प्रतिबद्धता सुनिश्चित गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ। जिल्लाबाट प्राप्त उजुरीमा सम्बन्धित पक्षसँग स्पष्टीकरण मागी दोष प्रमाणित भए कानुनी प्रक्रिया अगाडि बढाइने व्यवस्था गरिएको छ।







