काठमाडौँ । निर्वाचन प्रक्रियामा प्रविधि र सामाजिक सञ्जालको अनुचित प्रयोगले असर पार्न सक्ने विषयप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वासयोग्य बनाउन प्रविधिको सही उपयोग अपरिहार्य रहेको स्पष्ट पारेका छन्।
आयोगमा भएको टिकटकको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा भण्डारीले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने गलत सूचना, भ्रम र आचारसंहिता विपरीतका गतिविधिले निर्वाचनलाई प्रभावित गर्न सक्ने सम्भावनाबारे चिन्ता व्यक्त गरे। यस्ता जोखिम न्यूनीकरणका लागि आयोग मात्र होइन, सरोकारवाला सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
निर्वाचन प्रयोजनका लागि टिकटकले देखाएको सहयोगप्रति आयोगले प्रशंसा व्यक्त गर्दै यसलाई सकारात्मक पहलका रूपमा लिएको छ। नेपालमा कुनै स्वार्थरहित रूपमा निर्वाचन प्रक्रियालाई सहयोग पुर्याउने उद्देश्यले टिकटकले अघि सारेका कार्यक्रमहरू महत्त्वपूर्ण रहेको भण्डारीको धारणा थियो।
आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूसँग सहकार्य बढाउँदै गलत सूचना नियन्त्रण, भ्रमपूर्ण सामग्री हटाउने तथा निर्वाचन आचारसंहिता कार्यान्वयनमा सहयोग लिने तयारी गरिरहेको छ। यस क्रममा टिकटकलगायतका प्लेटफर्मबाट प्राप्त प्रतिबद्धतालाई आयोगले सहकार्यको अवसरका रूपमा मूल्यांकन गरेको जनाएको छ।
विश्वस्तरमै सामाजिक सञ्जालले निर्वाचनमा प्रभाव पार्ने जोखिम बढिरहेको सन्दर्भमा नेपालमा पनि प्रविधिको सकारात्मक उपयोगलाई प्रवर्द्धन गर्दै दुरुपयोग नियन्त्रणका लागि आवश्यक नीतिगत तथा प्रशासनिक कदम चाल्ने तयारीमा आयोग रहेको स्पष्ट पारिएको छ।







