काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह निर्वाचन अभियानअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ पुगेका छन्। क्षेत्रीय कार्यक्रमका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै विभिन्न विषयमा आफ्नो दृष्टिकोण राखेका हुन्।
यसअघि सुदूरपश्चिम भ्रमणका बेला सार्वजनिक रूपमा अभिव्यक्ति नदिएको विषयलाई लिएर आलोचना खेपेका साहले झापामा भने स्थानीयसँग भेटघाट गर्दै उनीहरूको जिज्ञासा र गुनासा सुने। कमल गाउँपालिकाका सुकुमबासी बासिन्दासँगको छलफलमा उनले उनीहरूको अवस्थाबारे प्रश्न र चासोको जवाफ दिएका थिए।
सुकुमबासी युवाहरूले निर्वाचनपछि आफ्नो बस्तीमा डोजर प्रयोग हुने र विस्थापनको जोखिमबारे आशंका व्यक्त गरेका थिए। त्यसको जवाफमा साहले काठमाडौँ महानगरपालिकाको सन्दर्भ र झापाको अवस्था फरक रहेको उल्लेख गर्दै यहाँ जबर्जस्ती हटाउने कार्य नहुने स्पष्ट पारेका छन्।
उनले सुकुमबासीहरूको हक सुनिश्चित गर्नुपर्ने धारणा राख्दै योग्य नागरिकले लालपुर्जा प्राप्त गर्नुपर्ने बताए। हाल सीमित समूहले मात्र दोहोरिएर लाभ लिने अभ्यासलाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो।
छलफलका क्रममा युवाहरूले पार्टीका प्राथमिक एजेन्डाबारे पनि प्रश्न उठाएका थिए। त्यसमा साहले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र निर्माण प्रक्रियामा रहेको जानकारी गराए।
शिक्षा र स्वास्थ्य सेवा नि:शुल्क गर्ने विषयमा उठेको प्रश्नमा उनले काठमाडौँको अभ्यासलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै प्रदेश संरचनामा खर्च अपेक्षाकृत न्यून रहेको दाबी गरे। उनले यस विषयमा अतिरञ्जित खर्चको आरोपलाई अस्वीकार गरेका छन्।







