काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धामा रहेका एक उम्मेदवारसँग लिखित स्पष्टिकरण माग गरेको छ। बाजुरा निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका हेमराज थापाको सार्वजनिक अभिव्यक्तिसम्बन्धी विषयमा आयोगले प्रक्रिया अघि बढाएको हो।
आयोगका अनुसार सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थापाको अभिव्यक्तिलाई लिएर उजुरी दर्ता भएपछि सोधपुछ गरिएको हो। उक्त अभिव्यक्ति बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँलाई लक्षित रहेको दाबी सहित निवेदन परेको जनाइएको छ।
सडक निर्माण ढिलाइ भएको विषय उठाउँदै गरिएको टिप्पणी आपत्तिजनक रहेको भन्दै आयोगको ध्यानाकर्षण गराइएको थियो। सोही सन्दर्भमा मुख्यमन्त्री बानियाँले आफ्नो विषयमा गलत आरोपसहित गाली गरिएको भन्दै कानुनी उपाय अवलम्बन गर्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए।
यस विषयमा मुख्यमन्त्री बानियाँले सम्बन्धित सडक आयोजना ठेक्काको म्याद २०८४ सम्म कायम रहेको, हिउँदमा निर्माण कार्य कठिन हुने अवस्था रहने तथा आफू सो आयोजनासँग आबद्ध नरहेको स्पष्ट पारेका छन्।
आयोग स्रोतका अनुसार, उम्मेदवार थापालाई तीन दिनको समयसीमा तोकी आफ्नो पक्ष प्रस्तुत गर्न निर्देशन दिइएको छ। प्राप्त जवाफका आधारमा आयोगले आवश्यक निर्णय प्रक्रिया अघि बढाउने जनाएको छ।







