काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाले वामपन्थी शक्तिलाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति सचेत रहनुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट आन्दोलन र दलप्रति फैलाइएका भ्रमको प्रतिवाद गर्न आवश्यक रहेको बताए। उनले वर्तमान परिस्थितिमा आन्तरिक असहमतिभन्दा आगामी निर्वाचनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
सापकोटाका अनुसार पार्टीभित्र छलफल र समाधान गर्नुपर्ने विषयहरू रहे पनि ती विषयलाई अस्थायी रूपमा थाती राखी निर्वाचनमा केन्द्रित हुनु अहिलेको मुख्य आवश्यकता हो। उनले सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकार सुदृढ गर्न फागुन २१ गते हुने निर्वाचनलाई विशेष महत्वका साथ लिनुपर्ने बताए।
उनले वामपन्थी शक्तिलाई कमजोर पार्ने योजनाबद्ध प्रयास भइरहेको संकेत गर्दै त्यसको सामना गर्न संगठनलाई थप एकताबद्ध बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए। पार्टीप्रतिको जनसमर्थन क्रमशः विस्तार हुँदै गएको उल्लेख गर्दै उनले अन्य अल्पकालीन लोकप्रियतामा आधारित प्रवृत्ति दीर्घकालीन रूपमा टिक्न नसक्ने टिप्पणी गरेका छन्।







