राजविराज । राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान हुने भएको छ ।
राजविराज विमानस्थलको आज उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले रनवेसहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताए ।
मन्त्री अधिकारीले श्री एयरलाइन्सका प्रमुख सुधिर मित्तललाई निर्देशन दिदै “यात्रु होस् नहोस्, सधैँ समयमा उडान भर्नुहोस्,” भने ।
“नेपाली एयरलाइन्समा यात्रु नभए उडान नै रद्द गर्ने बानी छ, अब राजविराज विमानस्थलमा यस्तो चल्दैन,” मन्त्री अधिकारीले भने ।
नेपाल वायु सेवा निगमले निकट भविष्यमै ६ वटा सानो जहाज किन्न लागेको र यात्रु भएमा एउटा जहाजले राजविराजबाट पनि नियमित उडान भर्ने उनले बताए । मन्त्री अधिकारीले ६ महिनाभित्र यस विमानस्थलमा तेल राख्ने गाडी पनि राखिने जानकारी दिँदै कार्गो विमानस्थलका रुपमासमेत विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।
विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलबाट झण्डै डेढ दशकपछि बुधबार ५० सिटे श्री एयरलाइन्सको जहाजले सफल परीक्षण उडान भरेको थियो ।