काठमाडौँ । सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ घर भएका ५० वर्षीय नानिराम खरेल छन् ।
खरेलले २०६२ भदौ २५ मा प्रतिवादीले चलाएको बा.१ ख ७१४४ नम्बरको मिनिबसले तिलगंगा आँखा अस्पताल नजिकै यात्रुलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको ।
मिनिबसको ठक्करबाट नुवाकोट घर भएका २७ वर्षीय कमल तामाङको मृत्यु भएको थियो । दुर्घटना गराएर प्रतिवादी खरेल भागेका थिए । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई २० वर्षपछि गौशालाबाट पक्राउ गरेको हो । हाल खरेललाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







