म्याग्दी । रघुगंगा गाउँपालिका-४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा ‘लिंगो जुधाउने’ प्रतियोगिता भएको छ । भूमे पूजापछि लिंगो जुधाउने परम्परालाई यहाँका स्थानीयले निरन्तरता दिँदै आएका छन् ।
मंगलबार सम्पन्न प्रतियोगितामा कान्छी गाउँ विजयी भएको छ । प्रतियोगिता मुन्का डाँडामा भएको थियो । सयौँ स्थानीय सहभागी प्रतियोगितामा भूमे पूजाको रौनक बढेको दग्नामका वडाध्यक्ष पबिन गर्बुजाले बताए ।
पुर्ख्यौली सोरठी भाका र नाचका साथै पञ्चेबाजासहित भूमे पूजाको लिंगो जुधाउने प्रतिस्पर्धा अवलोकन गर्न गाउँ र वरपरका पाँच सय गाउँले सहभागी थिए । मौलिक ग्रामीण परम्परा भूमे पूजा र लिंगंगो जुधाएको हेर्ने अधिक दग्नामीहरू रहेका वडाध्यक्ष गर्बुजाले बताए ।
मंगलबार बिहान भूमे पूजापछि दिउँसो भूमे देवतालाई खुसी पार्न स्थानीयले लिंगो जुधाएका हुन् । प्रतियोगितामा सिंगारिएका अग्ला बाँस जुधाइन्छ । प्रकृति पूजाका रूपमा मगर समुदायले भूमे पूजालाई महत्त्व दिँदै आएका छन् । दग्नामवासीले हरेक वर्ष जेठको पहिलो वा दोस्रो मंगलवारका दिन बाढी पहिरो र प्राकृतिक प्रकोपबाट बाली जोगियोस् भन्ने कामनाका साथ भूमे पूजा गर्दै आएका छन् ।