काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, निमित्त प्रशासकीय अधिकृत, वडाध्यक्ष, इन्जिनियर, सबइन्जिनियरदेखि उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको छ ।
आयोगले गाउँपालिका तत्कालीन अध्यक्ष उपाध्यक्ष सहित १० जनाले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
कर्णालीको फेरी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाउँपालिका लक्ष्मण बहादुर बम, उपाध्यक्ष दाना न्यौपाने, निमित्त प्रशासकीय अधिकृत राजकुमार बम, ९ नम्बर वडाका वडाध्यक्ष टंकबहादुर बम, इन्जिनियर खडानन्द रिजाल, सब इन्जिनियर विनोदकुमार बम, तत्कालीन सहलेखापाल नन्दबहादुर शाही, कर्णाली फेरी निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरजीत रोकाय सचिव अंग रोकाय र कोषाध्यक्ष पदशीना बम सहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
कालिकोटको पलाता गाउँपालिका वडा नं९ र पचाल झरना गाउँपालिका बीचमा पर्ने घाटाचौर थिर्पु भन्ने ठाउँमा कर्णाली प्रदेश सरकारबाट कर्णाली नदीमा गाडी तार्ने फेरी निर्माणको लागि बजेट आएकोमा काम पूरा नगरी उक्त बजेट अनियमितता गरेको उजुरी परेको थियो ।