काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउँदै आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य नहुने जिकिर गरे ।
उनले नेपाललाई साँच्चिकै माया गर्ने, स्वाधीनताको रक्षा गर्ने र सबैको साझा देश बनाउने हो भने यसको औचित्य, महत्त्व र गरीमा बुझाउनुपर्ने धारणा राखे । उनले नेपाल भन्दा कमजोर देशहरूले विकास र प्रगति गरेको बताउँदै नेपाल पनि सबल बन्ने विश्वास व्यक्त गरे ।
उनले युवाहरूलाई स्वदेशमै सपना देखाएर त्यसलाई बिपनामा परिणत गर्ने संकल्प गर्नुपर्ने जिकिर गरे । उनले संघीयता लोकतन्त्रको अभिन्न अंग रहेको बताउँदै संघीयतालाई जति बलियो बन्यो, लोकतन्त्र पनि त्यति नै बलियो बन्दै देश समृद्ध बन्ने बताए ।
उनले संघीयता र समावेशिता लोकतन्त्रका लागि उत्तिकै महत्वपूर्ण पाटो रहेको समेत जिकिर गरेका छन् ।