काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै भड्काउने काम नगर्न चेतावनी दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण आन्दोलन गर्ने बताएका हुन् ।
‘ब्रह्मलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको छ,’ उनले भने, ‘आन्दोलन शान्तिपूर्ण हुनेछ । हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनाबद्ध भइरहेको धर्म परिवर्तनको विरुद्धमा छौँ, देशको समृद्धि र प्रगति चाहन्छौँ ।’
संविधानले दिएको अधिकार प्रयोग गरेर फरक विचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गर्दा हिंसात्मक आन्दोलनको नाम दिएर दबाउने प्रयास नगर्न उनको चेतावनी छ । त्यस्तो दुष्प्रयास भए असजिलो परिस्थिति निर्माण हुने थापाले बताएका छन् ।
‘हामी राष्ट्रियता बलियो बनाउन चाहन्छौँ । प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिँदै छ । त्यो चिर्दै अघि बढ्छौँ,’ अध्यक्ष थापाले भने, ‘सरकार हाम्रो जायज माग र आन्दोलन प्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ । दमन गर्न तर्फ अग्रसर भई जनताको अधिकार र भावनालाई कुण्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रूपमा असजिलो परिस्थिति निर्माण हुनेछ ।’
राजावादी पार्टी र संघसंस्थाहरूले आगामी १५ जेठबाट संयुक्त रूपमा आन्दोलन अघि बढाउने घोषणा गरेका छन् । त्यसको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन थापाले कार्यकर्तालाई निर्देशनसमेत दिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई थापाले पार्टीमा स्वागत समेत गरे ।यस सम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबार संसद्मा गराएका हुन् ।