काठमाडौँ । भारत र पाकिस्तानबीच संघर्षविराम भएको ५१ घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन गर्दै आतंकविरुद्ध भएको कारबाहीबारे जानकारी गराएका छन्।
उनले भारतले पाकिस्तानस्थित आतंकवादी ठेगानामाथि प्रहार गर्दा आतंककारी संगठनहरूको मनोबल नै धरासायी भएको दाबी गरे।
‘भारतका मिसाइल र ड्रोन आक्रमणले आतंकका अखडाहरू मात्रै ध्वस्त पारेनन्, उनीहरूको हौसला पनि चकनाचुर बनाइदियो,’ प्रधानमन्त्री मोदीले सम्बोधनमा भने।
उनका अनुसार पाकिस्तानको बहावलपुर र मुरीदकेजस्ता स्थानहरू दशकौँदेखि आतंक्वादको ‘ग्लोबल युनिभर्सिटी’ बनेका थिए।
‘विश्वका ठूला आतंकवादी आक्रमणहरू, चाहे ९/११ होस् वा लण्डन ट्युब बम विस्फोट, अथवा भारतमा भएका ठूला आतंककारी हमला, सबैको सम्पर्क यिनै आतंकका अड्डासँग जोडिएको पाइन्छ,’ उनले दाबी गरे।
प्रधानमन्त्री मोदीले भारतीय नागरिकमाथि भएका आतंककारी हमलाको प्रतिशोध स्वरूप यस्ता अड्डाहरूलाई ध्वस्त पारिएको उल्लेख गरे। ‘हाम्रा छोरीहरूको सिन्दूर पुछ्ने आतंककारीहरूको मनोवृत्तिलाई भारतले यथोचित उत्तर दिएको छ,’ उनले भने।
भारतको सैन्य कारबाहीमा सयभन्दा बढी कुख्यात आतंककारीहरू मारिएको प्रधानमन्त्री मोदीले दाबी गरेका छन्।