काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक शंकर भण्डारीले भारतले पाकिस्तानमाथि गरेको आक्रमणको समर्थन जनाएका छन् ।
एक विज्ञप्ति जारी गर्दै आतंकवादलाई नियन्त्रण गर्दै शान्ति स्थापनाका लागि गरिने कारवाहीको शान्तिप्रिय नेपाली जनताले सदैव समर्थन गर्दै आएको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको निकट छिमेकी मित्रराष्ट्र भारतको जम्मु-कश्मीर राज्यको प्रसिद्ध पर्यटकीय क्षेत्र पहलगाममा बितेको ९ वैशाखका दिन पर्यटकको एक समूहमाथि अतिवादी मुस्लिम बन्दुकधारी आतंककारीहरूबाट एक नेपाली सुदीप न्यौपानेसहित २६ जना व्यक्तिको मृत्यु तथा दर्जनौँ घाइते भएको मानवता विरोधी क्रूर आततायी घटनाको नेपाली काँग्रेस, वैदिक सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान नेपालले यस अघि नै कडा शब्दमा निन्दा गर्दै भर्त्सना गरिसकेको छ स्मरण गराउन चाहन्छौँ ।’
विश्वमा जुनसुकै राष्ट्र, क्षेत्र वा भूभागमा हुने आतङ्ककारी गतिविधिको सदैव विपक्षमा हुने बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘आतङ्कवादलाई नियन्त्रण गर्दै शान्ति स्थापनाका लागि गरिने कारबाहीको शान्तिप्रिय नेपाली जनताले सदैव समर्थन गर्दै आएका छन् । हाम्रो यो अभियान आतङ्कवादलाई नियन्त्रण गर्न गरिने कुनै पनि कारवाहीको हार्दिकतापूर्वक समर्थन गर्दछ ।’
