काठमाडौँ। १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईँविरुद्ध अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय हिरासतमा राख्न अनुमति माग्ने तयारी गरेको छ ।
१४ वैशाखमा ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै दिएको म्याद सकिएपछि फेरि अनुमति माग्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईँविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।
मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईँलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।