धरान । धरान उपमहानगरपालिकाले अनलाइन मिडिया एसोसिएसन नेपाल र भगवान् सूर्य नारायणको मन्दिर निर्माणका लागि खोलाको छेउमा रहेको जग्गा प्रयोगका लागि मात्र उपलब्ध गराएको स्पष्ट पारेको छ। नगर प्रमुख हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीलाई लेखेको पत्रमा उक्त जग्गा बिक्री वा व्यक्तिगत लाभका लागि नदिइएको र यस्तो कार्य भएमा कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
पत्रअनुसार, मिडिया एसोसिएसनलाई सामुदायिक भवन निर्माणका लागि २०८१-१०-०३ को कार्यपालिका बैठकले ४ नं. वडा कार्यालयको सिफारिसमा जग्गा उपलब्ध गराएको हो। त्यस्तै, सोही क्षेत्रमा मन्दिर निर्माणका लागि २०८१-०३-०७ को बैठकले जग्गा प्रदान गर्ने निर्णय गरेको थियो।
नगर प्रमुख राईले पत्रमा मिडिया राज्यको चौथो अंग भएको उल्लेख गर्दै जग्गा प्रयोगमा पारदर्शिता कायम राखिएको दाबी गरेका छन्। यदि कसैले आर्थिक लाभ लिएको प्रमाणित भएमा कानूनी र सामाजिक कारबाही गर्ने उनले बताएका छन्। कार्यपालिका बैठकको निर्णयसमेत पत्रमा संलग्न गरिएको छ।
यो निर्णयले स्थानीय मिडिया र धार्मिक संस्थालाई सुविधा पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, जग्गा वितरणको पारदर्शितामाथि कुनै प्रश्न उठेमा छानबिन हुने नगरपालिकाले जनाएको छ।
